हेटौंडाः दोश्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि विजेता टिमलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको थियो ।
नगर प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिहीबार नगरपालिका कार्यालयमै फुटबल टिमलाई सम्मान गरेको हो । उपमहानगरपालिकाले खेलाडी र प्रशिक्षकलाई जनही ६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाले खेलाडी र प्रशिक्षकलाई फुटबल बुट पनि प्रदान गर्ने जनाएको छ ।
नगरप्रमुख लामाले खेलकुदको विकासका लागि उपमहानगर लागीरहेको भन्नुहुँदै चालु आर्थिक वर्षमै खेलकुदमा ठूलो लगानी गरिएको बताउनुभयो । खेलकुदको विकासका लागि मैदान निर्माण, शारीरिक व्यायामका लागि खुल्ला व्यायाम केन्द्रसहितको अवधारणामा उपमहानगर अघि बढेको उहाँको भनाइ थियो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको अन्तरपालिका फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।