Home मुख्य समाचार कैलाश गाउँपालिकामा ग्रामीण आँखा केन्द्र

कैलाश गाउँपालिकामा ग्रामीण आँखा केन्द्र

ग्रामीण आँखा केन्द्रको उद्घाटन गरिँदै ।

हेटौंडाः मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा कैलाश गाउँपालिकाले बुधबार कालिकाटारमा कैलाश ग्रामीण आँखा केन्द्र उद्घाटन गरेको छ ।

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान र तिलगंगा आँखा प्रतिष्ठानका आउटरिच म्यानेजर डा. मोहनकृष्ण श्रेष्ठले संयुक्त रुपमा केन्द्र उद्घाटन गर्नु भयो । केन्द्रमा बुधबारदेखि नै आँखा जाँच गर्ने कार्य शुरु गरिएको छ । आँखा केन्द्र उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मोक्तानले आँखाका बिरामीहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल आँखा कार्यक्रमका आउटरिच म्यानेजर डा. मोहन कृष्ण श्रेष्ठले तिलगंगा आँखा प्रतिष्ठानले सामुदायिक कार्यक्रम अन्तर्गत गाउँ–घरमा नै पुगी सेवा प्रदान गर्न ग्रामीण आँखा केन्द्र पालिकाहरुसँग सहकार्य गर्दै स्थापना गरिएको बताउनुभयो ।

ग्रामीण आँखा केन्द्रको उद्घाटनको अवसरमा गाउँपालिकाका अध्यक्षको आँखा परीक्षण गरिँदै ।

ग्रामीण आँखा केन्द्रमा आँखा जाँच, चश्मा जाँच, औषधि सेवा, सामान्य शल्यक्रिया र नियमित आँखा शिविर पनि आयोजना हुनेछ । उद्घाटनको अवसरमा आयोजित निशुल्क आँखा शिविरमा १ सय ८६ जनाको आँखा जाँच गरिएकामा २१ जना मोतिविन्दुका बिरामी भेटिएको छ । मोतिविन्दुका विरामीको निशुल्क शल्यक्रिया गर्ने कार्यक्रम रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रशासन प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ ।

Exit mobile version