केही दिनअघि हेटौंडाको एफसी विजय युथ क्लबले पनि रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गर्दै एफसी विजय युथका पदाधिकारी तथा खेलाडीहरु ।

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यून गर्न सरकारले लकडाउन घोषणा गरेसँगै मानिसहरुको भेला हुने अवस्था रहेन । बजारक्षेत्र, उद्योग, कलकारखाना, संघ, संस्थाको नियमित काम ठप्प जस्तै भयो । यस क्रममा रक्तदान कार्यक्रमको समेत आयोजना गर्न कठिन भयो । जसका कारण देशभरका रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखियो । मकवानपुर जिल्लाको हेटौंडास्थित रक्तसञ्चार केन्द्र हेटौंडामा पनि रगतको अभाव देखियो ।

लकडाउनका बेला रगतको अभाव हुँदै रक्तसञ्चार केन्द्र हेटौंडाले बोलाउँदा आएर रक्तदान गर्ने रक्तदाता (अनकल डोनर) लाई बोलाएर रगत संकलन गर्ने गर्यो । लकडाउनको अवधिमा रक्तसञ्चार केन्द्र हेटौंडाले ३०६ युनिट रगत संकलन गरेको छ । संकलित रगतबाट रगतको मागअनुसारको आपुर्ति व्यवस्था मिलाइएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ । रगतको अभाव भएको भन्ने जानकारी पाएर केही संघ, संस्थाले रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान कार्यक्रमको आयोजना समेत गरेका छन् । भौतिक दूरि कायम राख्दै आवश्यक सतर्कता अपनाएर रक्तदान कार्यक्रम आयोजना भएका थिए ।

लकडाउनको अवधिमा एफसी विजय युथ, जेसीआई हेटौंडा लेडी, लायन्स क्लब, कपडा तथा तयारी पोशाक व्यवसायी संघ, ट्रेड युनियन कांग्रेस मकवानपुरले रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान कार्यक्रमको आयोजना गर्यो । चाइना एफसीले हेटौंडा–१, स्थित अमर मावि र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले कार्यालय परिसरमै रक्तदानको आयोजना गर्यो । यसरी आयोजित कार्यक्रममार्फत १८३ युनिट रगत संकलन भयो भने रक्तसञ्चार केन्द्रले बोलाएका १२३ जनाले रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गरेका छन् ।

रगतको अभावको स्थितिमा पनि रक्तदातालाई बोलाएर रगत संकलन गरी मागअनुसार आपूर्तिको व्यवस्था मिलाइएको केन्द्र प्रमुख दाहालको भनाइ छ । चालु आर्थिक वर्षमा रक्तसञ्चार केन्द्रले दुई हजार सात सय ७१ युनिट रगत संकलन गरिसकेको छ ।