रघुराम पराजुली, प्रमुख वनस्पति अनुसन्धान केन्द्र मकवानपुर

आज चैत २९ गते २४ औं वनस्पति दिवस मनाइँदैछ । देशभर ७ जिल्लामा वनस्पति अनुसन्धान केन्द्र रहेको छ भने ११ वटा मात्रै वनस्पति उद्यान रहेका छन् । मकवानपुर जिल्लामा मात्रै ३ वटा वनस्पति उद्यान छ । वनस्पति दिवसकै अवसरमा वनस्पति असुन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः यो वर्ष वनस्पति दिवसको अवसरमा मकवानपुरमा के गरिँदैछ ?
पराजुलीः
वनस्पति विभागको ६३ औं वार्षिकोत्सव तथा २४ औं वनस्पति दिवसको सन्दर्भमा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले तीन दिवसीय कार्यक्रम गरी मनाउँदैछ । मकवानपुरमा रहेका विज्ञान विषयमा स्नातक तह पढाई हुने क्याम्पसबाट विद्यार्थीलाई आह्वान गरेर वनस्पति दिवसको नारा ‘जलवायु परिवर्तन एक चुनौतीः समाधानको लागि वनस्पति’ मा केन्द्रित भएर सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता आयोजना गर्यौं । चैत २८ गतेदेखि ३० गतेसम्म तीनवटा वनस्पति उद्यानमा दीपावली गर्ने, वृक्षरोपण गर्ने, वनस्पति उद्यान परिसरमा सरसफाई गर्ने र वनस्पति उद्यानमा अवलोकन गर्न आउनेलाई वनस्पतिसम्बन्धी सचेतना फैलाउने काम गर्छौं । र मिडियाबाट जनचेतना फैलाउने र यससम्बन्धी जानकारी दिने तयारी गरेका छौं ।

समाजः वनस्पतिको विषयमा आम मानिसमा रहेको धारणा कस्तो छ ? तपाईंहरुले के कुरामा आम मानिसले ध्यान दिनुपर्छ भन्ने सुझाव दिनुहुन्छ ?
पराजुलीः
जन्मदेखि मृत्युसम्म जति पनि आवश्यकता छन्, यी सबै वनस्पतिमा प्रत्यक्ष–अप्रत्यक्ष निर्भर रहेकै हुन्छ । वनस्पति भनेको बोटबिरुवाहरु हो । यसको बहुआयामिक महत्व छ । त्यससँग सम्बन्धित कार्यालय वनस्पति अनुसन्धान केन्द्र हो । यो कार्यालयले गर्ने गतिविधिहरु आम मानिससँग सेवा लिने–दिने हिसाबले गरिएको हुँदैन । त्यसैले वनस्पति अनुसन्धान केन्द्र केहीका लागि नौलो हुनसक्छ, तर जडिबुटीसम्बन्धी चासो राख्ने समुदायहरुलाई तालिम दिने गरेका छौं । मकवानपुरमा तीनवटा वनस्पति उद्यानहरु छन्ः वृन्दावन वनस्पति उद्यान हेटौंडा, पर्वतीय वनस्पति उद्यान दामन र टिष्टुङ वनस्पति उद्यान । त्यसमध्ये दुईवटा वनस्पति उद्यानमा प्रवेश शुल्क लिइने गरेको छ । सरकारलाई वन राजस्वको रुपमा गत असारदेखि यता करिब दुई लाख राजस्व संकलन भएको छ ।

समाजः अहिले जडिबुटीजन्य खेती र व्यावसायिक लाभको हिसाबले कति अनुकूल छ, कति जटिलता छन् ?
पराजुलीः
भूगोलअनुसार फरक रहन्छ, कुन भूगोलमा गर्दैछौं ? कुन प्रजाति गर्दैछौं ? कस्तो ठाउँमा गर्दैछौं ? विशेषगरी कुन जडिबुटी, कहाँ खेती गर्छौं, अनि प्रशोधन गर्ने क्षमता छ कि छैन, हामीले कच्चा बेच्नु भन्दा केहि प्रशोधन गरेर बेच्न सक्यो भने केही मूल्य बढी हुन्छ र लाभ हुन्छ ।

समाजः वनस्पति अनुसन्धान केन्द्रको प्रमुखको रुपमा रहनुहुँदा आम मानिसले वनस्पतिको बारेमा आधारभूत तरिकाले बुझ्नुपर्ने खास कुरा के ठान्नुहुन्छ ?
पराजुलीः
वनस्पतिको बारेमा यसको उपयोग गर्नुपर्छ, संरक्षण र बढोत्तरी गर्नुपर्छ । यसले भू–उपयोग पनि हुन्छ, माटोको संरक्षण पनि हुन्छ र हाम्रो वैकल्पिक श्रोतको रुपमा पनि विकास हुन्छ भन्ने बुझ्नुपर्छ ।

समाजः वनस्पति अनुसन्धान केन्द्रले गत वर्षमा गरेको उल्लेखनीय कार्य के–के देख्नुहुन्छ ?
पराजुलीः
वनस्पति केन्द्रअन्तर्गत् तीनवटा उद्यानहरुको व्यवस्थापन नर्सरी, विरुवा उत्पादन, वार्षिक लक्ष्य तोकिएका प्रजाति र संख्याबमोजिमको कार्यसम्पादन, उठेको राजस्व दाखिला गर्ने, यसलाई दुरुपयोग हुन नदिने र अवलोकन गर्न आउनेलाई वनस्पतिसम्बन्धी शिक्षा दिने गरेका छौं ।