हेटौंडाः बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख दिपेन्द्र सुवेदीले प्रदेशभरका कुनै पनि विद्यालय वा स्थानीय तहले अनुकुलता अनुसार कक्षा १ देखि ९ सम्मका विद्यार्थीको भर्ना सुरु गर्दा हुने बताउनुभएको छ । उहाँले कोरोना महामारी विश्वभर फैलिरहेको बेला यस्ता कुनै पनि गतिविधिले नेपाल सरकारले कोरोना भाइरस रोकथामको लागि चालेको कदमलाई प्रभाव पार्न नहुने बताउनुभएको छ ।
मन्त्रालयले १ कक्षादेखि ९ कक्षासम्मको वार्षिक परिक्षाफल प्रकाशन गर्न र प्रदेशको सबै पालिकामा पाठ्यपुस्तक पुर्याउने कार्यमा लागी रहेको बताउँदै समृद्ध समाजसँग सुवेदीले भन्नुभयो, ‘उच्च सर्तकता राखेर सामाजिक दुरी कायम गरेर सरकारको कोरोना रोकथामको कदमलाई कुनै असर नपारी कुनै विद्यालय वा स्थानीय तहले अनलाईन वा जुनकुनै माध्यमबाट भर्ना अभियान सुरु गर्न सक्नेछ ।’
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नतिजा प्रकाशन गर्न भनेसँगै हाल प्रदेशभरकै विद्यालयहरु नतिजा प्रकाशन गर्न जुटिरहेको छ । प्रदेशका कतिपय विद्यालयहरुले परिक्षाफल प्रकाशित गरिसकेका छन् भने कतिपयको अन्तिम तयारी भैरहेको जनाएको छ । भर्नाका लागि पनि प्रदेश सरकारको सुचना पर्खिरहेका पालिका र विद्यालयहरुको लागि अब बाटो खुला भएको छ ।