हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजनामा सुरु भएको तालिमको उपमहानगरका कार्यवाहक नगरप्रमुख राजेश बानियाँले सोमबार उद्घाटन गर्नुभयो ।

तालिमको उद्घाटन गर्नुहुँदै कार्यवाहक नगरप्रमुख बानियाँले तालिममा सहभागी महिला जनप्रतिनिधिको नेतृत्व तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता तालिमले भोलिका दिनमा सामाजिक नेतृत्वका हिसाबले अघि बढ्न मद्दत पुग्ने बताउनुभयो । सामाजिक विकास समितिमा संयोजक तथा हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको तालिममा हेटौंडा–२ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जन, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाई, महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेको उपस्थिति रहेको थियो ।

तालिम ५ दिनसम्म हेटौंडाको गैरसरकारी संस्था महासंघको हलमा सञ्चालन हुने छ । तालिममा सहभागितालाई प्रमुख प्रशिक्षक सोनालाल चौधरी, सहायक प्रशिक्षक अशोक कुमार कामतीले सहजीकरण गर्नुहुनेछ । तालिममा भाषणकला, उद्घोषण कला, जनतालाई वडाबाट दिने सुबिधाक्रममा अवलम्बन गर्ने स्वभाव, व्यवहार, वडामा हुने योजना तर्जुमा र कार्यान्वयनसहित व्यक्तित्व विकासका लागि आवश्यक विषयका बारेमा सहजीकरण गर्ने बताइएको छ । त्यस्तै तालिमका क्रममा हेटौंडा उपमहानगरका विभिन्न महाशाखा र शाखाले दिने सेवा र तिनका प्रक्रियाका बारेमा महाशाखा तथा शाखा प्रमुखले सहजीकरण गर्ने महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ ।