विद्यालयमा नियमितताकै लागि विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१, चाइनाक्वाटरस्थित अमर माविमा शैक्षिकसत्र २०७६ मा ९५ जना विद्यार्थी ड्रप–आउट भएका छन् । शैक्षिक सत्रको सुरुवातमा छ सय ८२ जना विद्यार्थी भर्ना भएकोमा वार्षिक परीक्षामा ५ सय ८७ विद्यार्थी मात्रै सहभागी भएका विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो ।

विद्यालयमा भर्ना भएका १० जना भारतीय बालबालिका होली र विहे भन्दै भारत गएर नफर्किएको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभयो । यस्तै १० देखि १५ जना विद्यार्थी अन्य जिल्ला र गाउँ फर्कने क्रममा विद्यालय छाड्न बाध्य भएको उहाँको भनाइ छ । विद्यालय छाड्ने विद्यार्थी र तिनका अभिभावकलाई समेत भेटेर बालबालिकालाई विद्यालय आउन आग्रह, बालबालिकालाई विद्यालय पठाउन आग्रह गरिए पनि विद्यार्थी नियमित भएको प्रधानाध्यापक उप्रेतीले गुनासो गर्नुभयो । विद्यार्थीले विद्यालय छाड्ने प्रवृत्ति समस्याको रुपमा रहेको औँल्याउनुहुँदै स्थानीय सरकारले पनि ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ ।

विद्यार्थीलाई विद्यालय नियमित गराउनकै लागि सरकारले छात्रवृत्तिको कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुहुँदै विद्यालय शिक्षक डीबी बर्तौला भन्नुहुन्छ, ‘विद्यार्थीको शैक्षिक अवस्थादेखि नियमितताका लागि घरदैलो गर्ने गरिएको छ । केहीले परीक्षामा अनुत्तिर्ण भएर पनि छाडेका छन् । एक वर्ष विद्यालय छाडेर फर्कने पनि छन् । विभिन्न संघ, संस्थाको सहयोगमा प्रोत्साहनका लागि शैक्षिक सामग्री समेत सहयोग गरे पनि विद्यालय छाड्ने क्रम रोक्न सकिएको छैन ।’ विद्यालय छाडेको एक, दुई वर्षपछि खुला विद्यालय कार्यक्रमअन्तर्गत कक्षा ८ मा भर्ना भएर समेत माथिल्लो कक्षाको नियमित कक्षा लिने अवस्था रहेको शिक्षक बर्तौलाको भनाइ छ ।