हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा आज तरकारी केही कम आएको छ । हिजाको तुलना ६० प्रतिशतमात्रै तरकारी आएको व्यवसायीको भनाइ छ ।
व्यवसायी बद्रि घिमिरेका अनुसार तरकारी केही कम आएको छ भने गोलभेँडा र काउलीको थोक मूल्य केही बढेको छ । हिजो प्रतिकेजी २० रुपैयाँमा कारोबार भएको गोलभेँडा आज प्रतिकेजी ३५ रुपैयाँमा कारोबार भएको छ भने हिजो प्रतिकेजी ७ रुपैयाँमा बिक्री भएको काउली आज प्रतिकेजी १५ रुपैयाँमा विक्री भएको छ ।
यस्तै आज घिरौँला, भिन्डी र रायोको सागको पनि मूल्य बढेको छ । तरकारी बजारमा नयाँ तरकारीको रुपमा चिचिण्डा आएको छ । चिचिण्डा प्रतिकेजी ३५ रुपैयाँमा कारोबार भएको छ । आज फर्सीको मुन्टा केही सस्तो भएको छ । हिजो प्रतिमुठा ४० रुपैयाँमा विक्री भएको फर्सीको मुन्टा आज २५ रुपैयाँमा विक्री भएको व्यवसायी घिमिरेले बताउनुभयो । अन्य तरकारीको भने हिजोकै मूल्य कायम भएको छ ।