कृषि मार्टमा तरकारी खरिद गर्न लामबद्ध उपभोक्ताहरु ।

हेटौंडाः जिल्ला कृषि सहकारी संघ मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित कृषि मार्टमा सहुलियत दरमा तरकारी विक्री सुरु गरिएको छ । कृषकलाई उचित मूल्य र उपभोक्तालाई सहुलियतमा तरकारी वितरण गर्ने उद्देश्यले बुधबारदेखि तरकारी विक्री सुरु गरेको हो । बिहिबार संघले घिरौंला, काउली, मुला, काँक्रो, बन्दा, भिन्डी र फर्सीको मुन्टा विक्री गरेको छ ।

कृषि मार्टमा थाहा नगरपालिकाको काउली र मूला विक्री गरिएको थियो भने अन्य तरकारी मनहरी गाउँपालिका र हेटौंडा–३ र १९ नम्बर वडा क्षेत्रको रहेको जिल्ला कृषि सहकारी संघका व्यवस्थापक नरेश आचार्यले जानकारी दिनुभयो । कृषि मार्टमा प्रतिकेजी ६० रुपैयाँका दरले ९७ केजी घिरौँला, प्रतिकेजी २५ रुपैयाँका दरले १०५ केजी काउली, प्रतिकेजी २० रुपैयाँका दरले १२० केजी मुला, प्रतिकेजी २० रुपैयाँका दरले ७६ केजी काँक्रो, १५ रुपैयाँ प्रतिकेजीका दरले ४५ केजी बन्दा, प्रतिकेजी ६० रुपैयाँका दरले ७ केजी भिन्डी र ३० रुपैया प्रतिमुठाका दरले २० मुठा फर्सीको मुन्टा विक्री गरिएको छ ।

कृषि मार्टमा तरकारी सहुलियत दरको तरकारी खरिद गर्न स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सहकारीमार्फत सहुलियत दरमा तरकारी पाउने भएपछि उपभोक्ताहरु बिहानैदेखि लाइन बसेर तरकारी खरिद गरेका थिए । कृषि सहकारी संघले कृषि मार्टमा दैनिक तरकारी विक्री गर्ने जनाएको छ । लकडाउनका बेला किसानले उचित मूल्य नपाएको र उपभोक्ताले पनि बढी मूल्य तिर्नुपरेको अवस्थामा सहकारीले कृषकबाट खरिद गरेर सिधै उपभोक्तालाई तरकारी वितरण व्यवस्थापन गरेको हो ।