अम्पायर (बीचमा) को साथमा मकवानपुर (बायाँ), चितवन (दायाँ) जिल्ला क्रिकेट टिमका कप्तान ।

हेटौंडाः तीन एक दिवसीय मैत्रीपूर्ण क्रिकेटअन्तर्गत दोस्रो खेल पनि चितवनसँग मकवानपुर पराजित भएको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा मकवानपुर ४३ रनले पराजित भएको हो । हेटौंडाको हुप्रचौरमा टस जितेर पहिले व्याटिङ गरेको चितवनले निर्धारित ५० ओभरमा ३१९ रन जोडेको थियो ।

चितवनका लागि जेनिश क्षेत्रीले ९० रन जोड्दा सनम बुढाथोकीले ५८ र साकार ढकालले ५० रनको योगदान गरे । मकवानपुरका बलर राजा अहदले ४ विकेट लिए । मकवानपुरले पाहुना टोली विरुद्ध ३२० रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको थियो । विशाल लक्ष्य पछ्याएको मकवानपुरले सम्हालिएर व्याटिङ गरे पनि जित हासिल गर्न सकेन । कप्तान सुमन सुनारले ८४, रनको योगदान गरे पनि हारबाट जोगाउन सकेनन् ।

मकवानपुरका शुभ कंशाकारले ३१ र सक्षम बास्ताकोटीले ३२ रन जोड्ने बाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेन । मकवानपुरले ४० ओभरमा २ सय ७६ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । तीन एकदिवसीय मैत्रीपूर्ण श्रृंखलामा पाहुना टोली चितवनले २–० ले नतीजा आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा चितवनले मकवानपुरलाई ६ विकेटले पराजित गरेको थियो भने भोलि बुधबार तेस्रो तथा अन्तिम खेल हुनेछ ।