हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले अभिभावकसँग अन्तरक्रिया गरेको छ । वाणिज्य संकायतर्फ बीबीए कार्यक्रममा अध्ययनरत विद्यार्थीका अभिभावकसँग शनिबार क्याम्पस प्रशासनले अन्तरक्रिया गरेको हो । बीबीए प्रथम सेमेस्टरका विद्यार्थीका अभिभावकसँग क्याम्पस प्रशासनले पहिलो पटक अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा सहभागी अभिभावकले क्याम्पस प्रशासनले अन्तरक्रियाका लागि बोलाउँदा खुसी लागेको प्रतिक्रिया जनाउँदै एक सेमेस्टरमा दुईपटक अन्तरक्रियाको आयोजना गर्न आग्रह गरेका छन् । क्याम्पस प्रशासनले पहिलो पटक आयोजना गरेको अन्तरक्रियाबाट अभिभावकले क्याम्पसका प्राध्यापकसँग परिचित हुने, क्याम्पस प्रशासनको योजनाका बारेमा थाहा पाउने अवसर प्राप्त भएको र अभिभावकले पनि आफ्ना कुरा राख्ने अवसर प्राप्त गरेको बताएका छन् । क्याम्पसका प्राध्यापकसँग परिचित हुन पाउँदा आफ्ना बाबुनानीको अवस्थाबारे क्याम्पस भन्दा बाहिर पनि प्राध्यापकसँग जान्ने, बुझ्ने अवसर प्राप्त हुने अभिभावकको अपेक्षा रहेको थियो ।
अभिभावकसँगको अन्तरक्रियामा क्याम्पस प्रशासनले अभिभावकलाई विद्यार्थीको शैक्षिक अवस्था, विद्यार्थीको उपस्थितिका बारेमा जानकारी गराएको मकवानपुर बहुमुखी क्याम्पसका बीबीए÷बीबीएम कार्यक्रमका उपनिर्देशक दिनेश विडारीले जानकारी दिनुभएको छ । अभिभावकको आग्रहमै क्याम्पस प्रशासनले बीबीए÷बीबीएम कार्यक्रममा एउटा सेमेस्टरमा दुईपटक अन्तरक्रिया आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेको उपनिर्देशक विडारीले जानकारी दिनुभएको छ ।
बीबीए÷बीबीएम कार्यक्रमका निर्देशक मधुकुमार सिंहको अध्यक्षतामा भएको अन्तरक्रियामा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्याय र सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारी पनि सहभागी हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मकवानपुर बहुमुखी क्याम्पसमा ४ बर्षदेखि बीबीए कार्यक्रम तथा ९ बर्षदेखि बीबीएम कार्यक्रम सञ्चालन भइरहेको छ । बीबीए प्रथम सेमेस्टरमा ५८ जना विद्यार्थी अध्ययनरत छन् ।
