Home खेलकुद कैलाश गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने

कैलाश गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने

फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाकामा पहिलो संस्करणको उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यही चैत १८ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुने कैलाश गाउँपालिका खेलकुद विकास समितिका सदस्य रवीन्द्र थिङले जानकारी दिनुभयो ।

कैलाश–३, कालिकाटारमा हुने प्रतियोगितामा पालिकाका १० वटै वडाका टिम सहभागी हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने थिङले बताउनुभयो । प्रतियोगितामा सहभागी हुन आगामी चैत १६ गतेसम्म टिमदर्ताको समय दिइएको छ । सोही दिन खेल तालिका सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेता टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, तृतीय हुने टिमले २० हजार र सान्त्वना हुने वडाले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कैलाश खेलकुद विकास समितिले गत फागुन २७ गतेदेखि ३० गतेसम्म गाउँपालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो । फुटबल प्रतियोगितामा पनि प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

Exit mobile version