हेटौंडाः मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले साहित्य महोत्सवको आयोजना गर्ने जनाएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी बैशाखमा हेटौंडा साहित्य महोत्सव–२०८० आयोजना गर्ने जानकारी दिएको छ । महोत्सवसँगै संगमले ११ जना व्यक्तित्वलाई सम्मान गर्ने पनि जनाएको छ ।
साहित्यसहित हेटौंडाका विविध पक्षमा बहस तथा छलफलका लागि महोत्सवमा आयोजना गरिएको संगमकी अध्यक्ष अनिता न्यौपानले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिने महोत्सवका लागि नेपाल प्रज्ञा प्रतिष्ठानसहितका संस्थासँग सहकार्यका लागि छलफल भइरहेको उहाँले बताउनुभयो । महोत्सव वैशाख ८ र ९ गते आयोजना गरिने भएको छ । महोत्सवकै अवसरमा संगमले मकवानपुुर साहित्य श्री सम्मान २०७९ का लागि मकवानपुरमा रही साहित्यकार÷गीतकार शम्भु बास्कोटालाई प्रदान गर्ने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यो सम्मान तत्कालिन जिविस मकवानपुरले दुुई लाख राशीको अक्षयकोष मार्फत् स्थापना गरिएको थियो । यस्तै, हास्यव्यङ्गयकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले दुुई लाख पचास हजारको अक्षयकोष स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान २०७९ साहित्य लेखन, पत्रकारिता, व्यङ्ग्य र बज्जिका भाषामा निरन्तर साधनारत सञ्जय साहलाई प्रदान गरिने भएको छ । यसको राशी २१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यसैगरी हाँस्यव्यङ्ग्यकार आरसी रिजालले आफ्नो आमाको स्मृतिमा स्थापना गर्नुभएको अणकुमारी स्मृति साहित्य पुरस्कार यसबर्ष ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुुरस्कार ९ देखि १२ कक्षामा अध्ययनरत छात्राहरु बीच चित्रकला प्रतियोगिता गराई छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक बर्ष साहित्य तथा कलाका फरक–फरक विधामा प्रतियोगिता गराई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यस्तै शिक्षासेवी डेण्डीजंग शाहले आफ्ने दिवंगत छोराको स्मृतिमा स्थापना गर्नुभएको शेषजंग स्मृति कथा पुरस्कार यसबर्ष बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा कृषाङ्गी अर्याललाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्रछात्राहरु बीच कथा प्रतियोगिता गराई छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक बर्ष साहित्यको कथा विधालाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
यसैगरी, साहित्यकार विशाल अधिकारी (आशुतोष) ले आफ्नो पिताको सम्झनामा स्थापना गर्नुभएको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान यस बर्ष छन्दकवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस्तै, हाल अमेरिका निवासी दीपक मुडभरीले आफ्नो मातापिताको नाममा स्थापना गर्नुभएको सुभद्रादेवी–मदन मुडवरी स्मृति सम्मान २०७९ का लागि साहित्यकार पूर्णकला घिमिरेलाई प्रदान गरिने भएको छ । यसको राशी दश हजार रुपैयाँ रहेको छ । यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको स्मृतिमा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान–२०७९ का लागि मकवानपुरमा जन्मेर काठमाडौँ कर्मथलो बनाई साहित्यमा सक्रिय स्रष्टा बिना थिङलाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ । यसैगरी, साहित्यसेवी मुुक्तिगाविन्द वैद्य र उहाँकी धर्मपत्नी तारादेवी वैद्यले स्थापना गर्नुभएको मुक्ति–तारा सम्मान २०७९ का लागि सुत्रकथाकार श्यामकृष्ण ज्ञवाली (एसके निधन) लाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ ।
यस्तै, हाल अस्टे«लिया बसोबास गर्दै आउनुभएका साहित्यकार जेनन नेपाल र शर्मिला दुुलालले आफ्नो हजुरआमा हजुरबुुबाको स्मृतिमा स्थापना गर्नुभएको डम्बर पूर्णमाया स्मृति कविता सम्मान २०७९ का लागि साहित्यकार मनुु मञ्जिललाई प्रदान गरिने निर्णय गरेको छ । जसको राशी २२ हजार २ सय २२ रुपैयाँ रहेको छ । यो सम्मान पहिलोपटक प्रदान गर्न लागिएको हो । संगमका संस्थापक मध्येका एक साहित्यकार केशव श्रेष्ठ ‘ज्योति’ ले साहित्य संगम मकवानपुरको नाममा स्थापना गर्नुभएको साहित्य संगम मकवानपुर स्मृति कृति सम्मान–२०७९ का लागि कथा संग्रह अपरिचित अनुहारका लागि साहित्यकार महेश पौडेललाई प्रदान गरिने भएको छ । जसको राशी २५ हजार रहेको छ । यसै बर्षबाट प्रदान गरिन लागेको यस सम्मानका लागि २०७८ सालभित्र प्रकाशित भएका कथाका कृतिहरुबाट छनोट गरिएको हो ।
यसैगरी, साहित्यकारद्वय ऋषि केबी र पूण्यशिला श्रेष्ठले आफ्नो मातापिता÷सासुुससुुराको नाममा स्थापना गरेको रामहरि–देवु युवा सम्मान–२०७९ का लागि साहित्यकार÷कवि छवि अनित्यलाई प्रदान गर्ने निर्णय गरेको छ । यस बर्षदेखि प्रदान गर्न लागिएको सम्मानको राशी दश हजार रहेको छ । २०४४ सालमा स्थापना भएको संगमले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा २०५९ सालदेखि पुुष्पलाल स्मृति पुुस्तकालय पनि सञ्चालन गर्दै आइरहेको छ । संगमको हेटौंडामा आफ्नै भवन समेत रहेको छ ।
