हेटौंडाः मुस्लिम समुदायको रमजान प्रमुख पर्व हो । अहिले मुस्लिम समुदायमा रमजान पर्व चलिरहेको छ । ईद उल फित्रको एक महिना अघिदेखि मुस्लिम समुदायले रमजान सुरु हुन्छ । रमजानमा सूर्योदय भएपछि सूर्यास्थ नभएसम्म निराहात ब्रत बस्ने गरिन्छ । बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला, अशक्त बाहेक सबैले निक्कै कडाईका साथ रमजानको ब्रत बस्ने गर्छन् । दिनहुँ मस्जिदमा गएर नमाज पढ्नु रोजाको अर्को महत्वपूर्ण पक्ष हो । तर, यस वर्ष लकडाउनका कारण मुस्लिम समुदाय घरमै परिवारको साथमा नमाज पढिरहेका छन् ।
बैशाख १३ गतेदेखि सुरु भएको रमजानमा लकडाउनका कारण मस्जिदमा रमजान पढ्न पाएको छैन । सूर्योदय हुनुअघि बिहान ४ बजेर ५ मिनेटअघि र सूर्यास्त भएपछि साँझ ६ बजेर ४० मिनेटपछि मात्रै खाना खाने गरिएको हेटौंडा–४, कमलाडाँडाका फुलमोहम्मद अन्सारीले जानकारी दिनुभयो । कोरोना भइरसको संक्रमणको जोखिमका कारण मस्जिद जान नपाउने अवस्थामा घरमै नमाज पढ्ने गरिएको अन्सारीले बताउनुभयो । हेटौंडा–४, कमलडाँडाकै शेष जहाँगीरले पनि लकडाउनका बाबजुद पर्वका बेला परिवारमै रहेर रमजानभर नमाज पढिने बताउनुभयो ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण समुदायका सबैले घरमै नमाज पढिरहेको उहाँले बताउनुभयो । रामजानका बेला बिहान, दिउँसो, साँझ र राती गरी पाँच पटक मस्जिदमै पुगेर नमाज पढ्नुपर्ने शेष जहाँगीरले बताउनुभयो । मस्जिदमै पुगेर पढ्न अनुकुल नभए आफू जहाँ, जस्तो अवस्थामा छ त्यही दिनमा पाँचपटक नमाज पढ्नु पर्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘लकडाउनका कारण सबै घरमै नमाज पढ्छौं । मस्जिदमा मौलाना (हिन्दु समुदायको पुजारी जस्तै) र उहाँका सहयोगीले मात्रै नमाज पढ्ने अवस्था छ ।’