हेटौंडाः चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा मकवानपुरका क्याम्पसमा निर्वाचनको तयारी तिब्र रहेको देखिन्छ । हरेक क्याम्पसमा बुथ निर्माणको काम भइरहेको छ । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भइसकेको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने व्यवस्था रहेको छ ।
यसैबीच वन विज्ञान क्याम्पसका प्राध्यापक डा. शिवकुमार मान्जनले क्याम्पसमा निर्वाचनको तयारी तिब्र रहेको बताउनुभएको छ । क्याम्पसमा बुथ निर्माणको काम सुरु भएको जानकारी दिनुभयो । क्याम्पसमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को निर्देशनअनुसार आचारसंहिता कार्यान्वयन भइरहेको र विद्यार्थीहरु सहजताका साथ अगाडि बढेको उहाँले बताउनुभयो ।
निर्वाचनको मतपत्र छपाईको कार्य भइरहेको बताउँदै ४ सय ३९ जना विद्यार्थी रहेकोमा ४ सय ५० वटा मतपत्र छपाई गरिने मान्जनले जानकारी दिनुभयो । क्याम्पसमा अखिल ( एमाले), अखिल क्रान्तिकारी (माओवादी), नेविसंघ र स्वतन्त्र गरी चार संगठन रहेका छन् । अखिल (एमाले) पहिलो स्थानमा, अखिल क्रान्तिकारी (माओवादी) दोस्रो स्थानमा, नेविसंघ तेस्रो र स्वतन्त्र चौथो स्थानमा राखेर मतपत्र छपाईको कार्य भइरहेको उहाँले बताउनुभयो ।
यस्तै, मकवानपुर बहुमुखी क्याम्पसमा निर्वाचनको तयारी तिब्र रहेको निर्वाचन आयुक्त यम सिलवालले जानकारी दिनुभएको छ । क्याम्पसमा बुथ निर्माणको काम भएको छ । क्याम्पसमा त्रिविको निर्देशनअनुसार आचारसंहिता पूर्णरुपमा लागू भएको छ । क्याम्पसमा कुनै पनि संगठनले सभा गर्न नपाउने भएकाले क्याम्पसले नै बिहीबार उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमको आयोजना गरिदिएको उहाँले बताउनुभयो ।
निर्वाचनको लागि मतपत्र छपाईको कार्य भइरहेको र चुनावको लागि मतपेटिका निर्वाचन कार्यालयबाट ल्याउने सिलवालले जनकारी दिनुभयो । क्याम्पसमा ३ हजार एक सय ९१ जना विद्यार्थी मतदाता रहेको र त्यहि आधारमा मतपत्र छपाईको कार्य भइरहेको उहाँको भनाई छ ।