निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले बिहीबार हेटौंडा उपमहानगरपालिकाका कार्यकारी प्रमुख शिवराज चौलागाईलाई ध्यानाकर्षणपत्र बुझाउनुहुँदै ।

हेटौंडाः कर्मचारीको सेवा प्रवाहप्रति असन्तुष्टि व्यक्त गर्दै निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका कार्यकारी प्रमुखलाई ध्यानाकर्षण गराएको छ । निर्माण व्यवसायीको फर्म नवीकरण तथा नामसारीको कार्यमा सम्बन्धित फाँटका कर्मचारीले अनावश्यक ढिलाई गरेको र कार्य गर्न अनिच्छुक भएको उल्लेख गर्दै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले बिहीबार बिहान कार्यकारी प्रमुख शिवराज चौलागाईलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।

सम्बन्धित फाँटका कर्मचारीले आफू अनुकुल काम गरी कसैको नामसारी गर्ने गरेको आरोप पनि व्यवसायीले लगाएका छन् । सोझासाझा व्यवसायीको फर्म नवीकरणमा भने कर्मचारीले आनाकानी गर्ने गरेको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र प्रसाद चौलागाईको हस्ताक्षरमा बुझाइएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । संघले निर्माण व्यवसायीका काम–कारवाही नियमानुसार कार्यान्वयन गराउन पनि आग्रह गरेको छ ।

व्यवसायीको ध्यानाकर्षणपत्र बुझ्नु हुँदै कार्यकारी प्रमुख शिवराज चौलागाईले व्यवसायीले ध्यानाकर्षण गराएको कुरामा तुरुन्त छानविन गरी दोषी पाइए कर्मचारीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । व्यवसायीले सम्बन्धित फाँटका कर्मचारी भनेर ध्यानाकर्षण गराए पनि कर्मचारीको नाम भने खुलाएको छैन ।