हेटौंडाः गणित शिक्षण सिकाइमा सरोकारवालाहरुको भूमिका विषयक एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम हेटौंडामा भएको छ । मंगलबार गणित शिक्षा परिषद् जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
परिषद्का जिल्ला अध्यक्ष धनिकलाल साहको सभाध्यक्ष तथा केन्द्रीय महासचिव श्रीप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । गणित शिक्षण सिकाइलाई कठिन विषयवस्तुका रुपमा लिइरहेको अवस्थामा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जसरी विज्ञानका विषयवस्तुहरुलाई प्रविधि तथा प्रयोगशालाका रुपमा लिइएको छ, त्यसरी नै गणित शिक्षालाई लिनुपर्ने बताउनुभयो । उहाँले तल्लो तहदेखि नै गणित शिक्षण सिकाइलाई कमजोर बनाइएको बताउनुभयो । नेपाली समाजको शिक्षा घोकन्ते हुँदा यस्तो समस्या निम्त्याएको उहाँको भनाई छ । गणित शिक्षालाई सहज बनाउने हो भने व्यावहारिक शिक्षालाई जोड दिन जरुरी रहेको उहाँले जानकारी दिनुभयो ।










