हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६, सुनाचुरीमा रहेको सुनाचुरी सामुदायिक वनको वन सप्ताह कार्यक्रम सुरु भएको छ । अग्नि रेखा निर्माण गर्ने उद्देश्यले बुधबारदेखि वन सप्ताह सुरु भएको हो । सव–डिभिजन वन कार्यालय मनहरीका सहायक वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीको संयोजकत्वमा वन सप्ताह चैत ७ गतेसम्म सञ्चालन हुनेछ । एक कार्यक्रमकाबीच उहाँले औपचारिक रुपमा सप्ताहको उद्घाटन गर्नुभएको छ ।
उहाँले सकेसम्म डढेलो लाग्न नदिन र यदि लागिहाल्यो भने धेरै क्षति हुन नदिनका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम गरिने बताउनुभयो । यस्तै राष्ट्रिय वनसँगै सिमाना जोडिएको सुनाचुरी सामुदायिक वनलाई उपभोक्ताहरुले संरक्षणमा चासो नदिएको भन्दै दुख व्यक्त गर्नुभयो । ओझेलमा परेको वन क्षेत्रलाई संरक्षण गर्नु महत्वपूर्ण रहेकाले सामुदायिक वनबाट उक्त कार्यक्रम प्रारम्भ गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा सुनाचुरी सामुदायिक वनका सचिव रामेश कार्कीले वनको चौतर्फी संरक्षणमा सबैले चासो राख्नुपर्ने बताउनुभयो । अपनत्वको भावना राखेर वन क्षेत्रलाई सबैले संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा रेन्जर रुपक कुमार भ्लोन, फरेस्टर उत्तम प्रजा, अग्नि नियन्त्रक कर्मचारी, सेना, सशस्त्र प्रहरी, सामुदायिक वन समूहका पदाधिकारी र स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको छ । वन तथा वातावरण मन्त्रालयले हरेक वर्ष चैत १ गतेदेखि ७ गतेसम्म वन सप्ताह मनाउँदै आएको छ ।