किताबघर सञ्चालनमा आएको पहिलो दिन सोमबार पुस्तक खरिद गर्नुएकी एक अभिभावक खुसी हुनुहुँदै ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा किताबघर सञ्चालनमा आएको छ । पठन संस्कृतिको विकास गर्न आकर्षक पुस्तक विक्री कक्षकोरुपमा किताबघर सञ्चालनमा आएको हो ।

मकवानपुरका साहित्यकार, शिक्षक, शिक्षाप्रेमीको संयुक्त लगानीमा करिब २० लाख रुपैयाँ लागतमा हेटौंडा–४, भैरवरोडमा किताबघर सञ्चालनमा आएको हो । सोमबार अनौपचारिकरुपमै सञ्चालनमा आएको किताबघरमा पहिलो दिन १ सय २४ थान विविध पुस्तक विक्री भएको सञ्चालक छवि अनित्यले जानकारी दिनुभयो ।

पुस्तक विक्री केन्द्रका साथसाथै पुस्तक अध्ययन तथा समसामयिक विषयमा समीक्षा, बहस, विद्यार्थीलाई सिर्जनशील बनाउन प्रशिक्षणात्मक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ । किताबघर सञ्चालनमा आएको अवसरमा एक सातासम्म १५ देखि २० प्रतिशत छुटमा पुस्तक विक्री गरिने सञ्चालक अनित्यले जानकारी दिनुभएको छ ।