अभिभावक समन्वय समिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः पालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले मकवानपुरको बागमती गाउँपालिकाका विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षहरुको भेला गरी समन्वय समिति गठन गरेको छ । सोमबार गाउँपालिकामा रहेका ५० वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुको भेलाले बच्चु खड्का गोलेको अध्यक्षतामा पालिकास्तरीय समन्वय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा बलाराम पुलामी, सचिवमा राम बहादुर दर्लामी, सहसचिवमा मोहोन विक्रम कामी र कोषाध्यक्षमा अक्कल बहादुर सिङ्तान चयन हुनुभएको छ । यस्तै सदस्यमा सुरेन्द्र राई, शरण काजी श्रेष्ठ, डोरबहादुर थापा, श्याम लोप्चन, रेशम बहादुर वाईबा, हस्त बहादुर बोम्जन, माईलीमाया दोङ र धन बहादुर माझी चयन हुनुभएको छ । बागमती गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास समितिमार्फत गाउँपालिकाले भेलाको आयोजना गरेको हो ।

भेलालाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष सर्केश घलानले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न अभिभावकको भूमिका बढाउन पालिकाका सबै विद्यालयको व्यवस्थापन समितिका अध्यक्षको भेला गरी समन्वय समिति गठन गरिएको जानकारी दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, कर्मचारी, विद्यार्थीको निगरानी गर्न, सहयोगी र सहजकर्ताको रुपमा अभिभावकलाई क्रियाशील गराउन गाउँपालिकाले समन्वय समिति गठन गरेको अध्यक्ष घलानको भनाइ छ । व्यवस्थापन समितिका अध्यक्ष र अर्का एकजनालाई गाउँ शिक्षा समितिमा समावेश गरी अभिभावकको उपस्थितिलाई प्रभावकारी बनाउने घलानले स्पष्ट पार्नुभएको छ ।