सिलाईको अभ्यास गरी तालिमको उद्घाटन गर्नुहुँदै वडा सदस्य रञ्जिता सिलवाल ।

हेटौंडाः हेटौंडा–५ स्थित नवीन टोल विकास संस्थाको आयोजनामा ३ महिने आधारभूत सिलाई तालिम सुरु भएको छ । टोल विकास संस्थाका अध्यक्ष पुरुषोत्तम प्रसाद लामिछानको अध्यक्षता तथा वडा सदस्य रञ्जिता सिलवालको प्रमुख आतिथ्यमा तालिम उद्घाटन कार्यक्रम भएको हो । प्रमुख अतिथि सिलवालले सिलाई मेसिन चलाएर आइतबार तालिमको उद्घाटन गर्नुभयो ।

गृहिणी महिलाका लागि आयमूलक सीप विकासका लागि टोल विकास संस्थाकै सक्रियतामा हेटौंडा उपमहानगरपालिकाले तालिम कार्यक्रमका लागि सहयोग गरेको हो । तालिममा २० जना सहभागी छन् । बिहान ११ बजेदेखि ३ घण्टा तालिम हुनेछ । तालिममा प्रशिक्षक रेणुका बास्तोलाले सहजीकरण गर्नुहुनेछ । तालिम पिप्ले–पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा हुनेछ । ५ नम्बर वडामा २८ वटा टोल विकास संस्थाहरु रहेका छन् ।