कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ।

हेटौंडाः सरकारले बालमैत्री स्थानीय शासन लागु गर्नुपर्ने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताउनुभएको छ । सोमबार हेटौंडामा स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति मकवानपुरको संयुक्त आयोजनामा स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एकदिने अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री दुलालले सरकारका लागि चुनौतीपूर्ण कार्य भए पनि देश विकास गर्न राज्यले बालमैत्री स्थानीय शासन लागु गर्नुपर्नेमा जोड दिनुभएको हो ।

मन्त्री दुलालले उच्च ओहदामा रहेकाहरुले भिडमा भाषण गर्न चासो राख्ने तर नीति निर्माण र सुक्ष्म कामहरुलाई खासै चासो नराख्ने गरेको बताउनुहुँदै आधारभूत तहमा बसेर काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि नीति नभएको धारणा राख्नुभयो । स्वास्थ्य देशको महत्वपूर्ण विषय भएकाले बालबालिकालाई स्वस्थ राख्न स्वास्थ्य स्वयंसेविकाहरुको ठूलो भूमिका हुने बताउनुभयो । स्थानीय सरकारले भौतिक पूर्वाधारमा मात्रै नभई सामाजिक सुरक्षा विकासका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनुहुँदै सरकारमा रहेर आफूले विगतमा बालबालिकाको स्वास्थ्यमा कार्य गरेको र आगामी दिनमा पनि काम गर्ने बताउनुभयो ।

स्वास्थ्यलाई ध्यानमा राख्दै जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहने भएकाले मकवानपुरका स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई अनुशिक्षण कार्यक्रम गरेको छ । बाल स्वास्थ्य, पत्रु खाना, आधारभूत सरसफाई, नवजात शिशु स्याहार, गर्भावस्थाको स्वास्थ्य, महिला प्रजनन्, विद्यालय नर्स कार्यक्रमको आवश्यकता र सकारात्मक प्रभावको विषयमा अनुशिक्षण कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका रेवती थापा, सिविन बाल हेल्पलाइन हेटौंडाका संयोजक झविन्द्र ज्ञवाली र जिसस मकवानपुरका शाखा अधिकृत सुनिता कुमारी गजुरेलले सहजीकरण गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको सभाध्यक्षतामा भएको अनुशिक्षणमा जिल्लाका दश वटै स्थानीय तहका स्वयंसेविकाको उपस्थिति रहेको थियो ।