जाडो मौसमको अन्त्यसँगै गर्मी र सुख्खा मौसम सुरु हुन्छ । यस समयमा हावा हुरीसमेत चल्ने गर्दछ । यही बेला वनजंगलका रुखहरुको पात झरेर सुकेका हुन्छन् । यसैकारण फागुनदेखि बैशाखसम्म डढेलो र आगलागीका घटनाहरु बढी नै हुने गर्दछन् । तराई मधेश, चुरे, महाभारत पहाड तथा उच्च पहाडी क्षेत्रमा रहेका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा डढेलो लाग्ने र लगाउने कार्य यस समयमा देशैभर हुन्छन् । यसको असर मकवानपुर जिल्लामा पनि देखिने गरेको छ । पर्याप्त वन क्षेत्र भएका कारण मकवानपुरमा अत्यधिक डढेलोको समस्या वर्षेनि बढ्दै गएको छ । यस वर्ष हिउँदे वर्षा नभएका कारण वातावरण बढी नै सुख्खा भएको छ । यसले आगलागी र वनजंगलमा डढेलो लाग्ने सम्भावना बढ्ने र त्यसबाट गम्भीर जोखिम उत्पन्न हुने अनुमान गर्न सकिन्छ । वन डढेलोले वरपरका मानव बस्तीमा आगलागीको सम्भावना बढ्नुका साथै वनमा रहेका विरुवा तथा जीवजन्तु मर्ने, अन्य भौतिक संरचनामा क्षति पुग्ने र वातावरणमा नकारात्मक प्रभाव पार्ने गर्दछ । यसले मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्दछ ।
सुख्खा मौसममा आगलागीका घटना बढी हुने भएका कारण दैनिकजसो वारुणयन्त्र (दमकल)को साइरन सुन्ने गरिन्छ । यस वर्ष फागुन महिनामा मात्रै हेटौंडा उपमहानगरपालिकाको बारुणयन्त्रले ४० स्थानको आगलागीका घटना नियन्त्रणमा लिएको छ । यसले आगलागीका घटना प्रकोपको रुपमा फैलिने सम्भावना बढाएको छ । आइतबार पनि हेटौंडा उपमहानगरपालिकाको दुईवटा दमकलले आगलागी नियन्त्रणका लागि ४ पटक कुदेको छ । फागुनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय वर्कशपको स्टोर र हेटौंडाको डम्पिङ साइटमा सबैभन्दा ठूलो आगलागीका घटना भएको छ । यस अवधिमा वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि बढीजसो दमकल प्रयोग भएको पाइन्छ । आगलागी र वन डढेलोको घटना बढ्दै जाँदा उपमहानगरपालिकालाई दमकल थप गर्नुपर्ने बाध्यता बन्दै गएको छ । वनजंगलमा डढेलो फैलिएपछि नियन्त्रण गर्न धेरै गाह्रो पर्दछ । डढेलोबाट बच्ने प्रभावकारी उपाय भनेको डढेलो लाग्नै नदिनु हो । यसका लागि डढेलो लाग्न नदिनेतर्फ सबै पक्षको सतर्कता र पूर्वतयारी आवश्यक पर्दछ ।
नेपालको अधिकांश वनमा पतझड विरुवाको बाहुल्यता छ । वसन्त ऋतुको सुरुवातसँगै बोटविरुवाबाट पात झर्न सुरु हुन्छ । यसैसँग सुरु हुने सुख्खायामका कारण झरेका पातहरु सुकेर सामान्य आगोको झिल्कोले पनि आगलागी हुने सम्भावना बढी हुन्छ । अनि मानिसको सामान्य असावधानीको कारण पनि वनमा आगो सल्किएर डढेलोको रुप लिन पुग्छ । चुरोट सेवन गर्ने मानिसले फालेको ठुटोले वनमा डढेलो लाग्नसक्छ । हावाहुरीको कारण आगोका झिल्काहरु उडाएर पनि डढेलो लाग्न सक्छ । मानिसले आफ्नो स्वार्थपूर्तिका लागि जानाजान डढेलो लगाउन सक्छन् । जसरी डढेलो लागे पनि त्यसले प्राकृतिक वनस्पति र जीवजन्तुलाई असर त पुग्छ नै, अन्ततः मानिसलाई धेरै प्रकारका नकारात्मक असर गर्दछ । सानो आगो लाग्दा वास्ता नगर्ने कारण सोही आगो फैलिएर ठूलो रुप लिने हुँदा पनि डढेलोको असर व्यापक बन्ने गरेको छ ।
वन डढेलो तथा आगलागीबाट हुने जनधनको क्षति, जैविक विविधतामा हुने ह्रास तथा वातावरण प्रदूषणबाट बच्न सरोकारवालाहरु सचेत बन्नुपर्छ । वनजंगलमा लाग्ने डढेलो र आगलागी समयमै नियन्त्रण गर्न प्रभावकारी व्यवस्था अपनाउनु पर्छ । राजमार्ग तथा सडक सुविधा पुगेको वनजंगलमा लागेको डढेलो नियन्त्रणका लागि दमकल प्रयोग गर्न सकिने भए पनि सबैतिर यस्तो सुविधा हुँदैन । दमकल पुग्न नसक्ने वन क्षेत्रमा अन्य वैकल्पिक उपायबाट डढेलो नियन्त्रण गर्नुपर्छ । डढेलोे बढी लाग्ने क्षेत्रहरुमा यससम्बन्धी सचेतना अभियान सञ्चालन गर्नुपर्छ । स्थानीय सरकारलाई डढेलो नियन्त्रणका लागि स्रोत, साधनले सम्पन्न बनाउनु जरुरी छ । वन विनाशको एउटा महत्वपूर्ण कारण बनिरहेको डढेलो नियन्त्रण गरेर वन संरक्षणमा सबैको चासो र सक्रियता बढ्नु आवश्यक छ ।