चन्द्रोदय माध्यमिक विद्यालयको फाईल तस्विर

हेटौंडाः हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति सदस्य (विव्यस) चयन हुन सकेको छैन । गत माघ २८ गते विद्यालयको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति सदस्य सर्वसम्मत चयन गर्न नसकेपछि एक हप्ताका लागि समय तोकिएको थियोे । तर हालसम्म २ पटक बैठक बसेपनि विद्यालय व्यवस्थापन समिति सदस्य चयन हुन सकेको छैन ।

चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जिधराज ढकालले शिक्षा नियमावली विपरीत विद्यालय व्यवस्थापन समिति सदस्य चयन गर्न नमिल्ने बताउनुभयो । समितिको सदस्य चयनका लागि आधिकारिक सहमति हुन बाँकी रहेकाले विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको उहाँले बताउनुभयो ।

अभिभावकबाट नै सकारात्मकरुपमा मिलेर कम्तिमा २ जना महिलाको प्रतिनिधित्व हुने गरी ४ जना सदस्य चयन गर्नुपर्ने हुन्छ । उहाँका अनुसार सांघुुरो घेराका बीच हालसम्म ४ जना सदस्यका लागि ६ जनाले आकांक्षा राख्नुभएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य चयन गर्न अनौपचारिक रुपमा बाटो खुला हुने उहाको भनाइ छ । १४ जनामध्ये १ जना आकांक्षीबाट बाहिरिएका भएपनि अन्यको हकमा औपचारिक निर्णय गर्न बाँकी रहेको दावी उहाँले गर्नुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी बज्रकिशोर गुप्ताले गत माघ ११ गते विद्यालय व्यवस्थापन समिति सदस्यको म्याद सकिएको बताउनुभयो । नयाँ कार्यसमितिका लागि ८ जना महिला र ६ जना पुरुषले आकाक्षा राखेपछि अहिलेसम्म विद्यालय व्यवस्थापन समिति सदस्य हुन नसकेको जानकारी दिनुभयो । केही दिनभित्र शिक्षा ऐन कार्यान्वयन गरी विद्यालय व्यवस्थापन समितिका लाग सदस्यको टुंगो लाग्ने उहाँले बताउनुभयो ।