आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी ।

हेटौंडाः आगामी चैत १७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने परीक्षार्थीहरु समय तालिका बनाएर परीक्षाको तयारी गरिरहेका छन् । घरमा कुन समयमा कुन विषय पढ्ने भनेर समय छुट्याएर विद्यार्थी एसईई परीक्षाको तयारी गरिरहेका हुन् ।

एसईई परीक्षाको तयारी गरिरहेकी जेनिसा पुडासैनीले अध्ययनका लागि सहज हुने भएकाले समय तालिका बनाएर परीक्षा तयारी गरिरहेको बताउनुभयो । पढेका विषयवस्तु स्मरणका लागि पुनः दोहोर्‍याएर अध्ययन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । बिहान ५ बजेदेखि ८ः३० बजेसम्म र विद्यालयबाट छुटिसकेपछि राति ११ बजेसम्म पढ्ने गरेको उहाँँले बताउनुभयो ।

‘महत्वपूर्ण विषयवस्तुलाई विशेष समय दिएर अध्ययन गर्ने गरेकी छु’, जेनिसले भन्नुभयो– ‘ऐच्छिक प्रथम, ऐच्छिक द्वितीय र विज्ञान विषयलाई बढी समय दिएकी छु ।’ पाठ्यपुस्तकबाहेक एसईई का पुराना प्रश्नपत्रबाट समेत अभ्यास गर्ने गरेको उहाँले बताउनुभयो । अध्ययन गर्दा महत्वपूर्ण प्रश्न–उत्तरलाई हाइलाइट गर्ने गरेकाले सहजरुपमा पुनःस्मरण गर्न सहयोग पुग्ने बताउनुभयो । जेनिसा भन्नुहुन्छ— ‘विद्यालयमा समूह–समूह बनाएर जसरी अध्यापन गराइएको छ, घरमा पनि साथीहरुले पढिरहेका छन् ।’ तयारी राम्रो भइरहेकाले उत्कृष्ट नतिजा प्राप्त गर्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपक अधिकारीका अनुसार विद्यालयले लिएको परीक्षाको आधारमा विद्यार्थीलाई विभाजन गरी अध्ययन गराइएको छ । गत माघ २६ गतेदेखि विद्यालयले लिएको परीक्षाको नतिजाका आधारमा कमजोर विद्यार्थीलाई बिहान ८ः३० बजेदेखि १० बजेसम्म र फेरि बेलुका पनि ६ बजेसम्म अतिरिक्त कक्षा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । विद्यालयले नियमित समयमा पनि अध्यापन गराइरहेको उहाँको भनाई छ । उत्कृष्ट अंक ल्याउने अपेक्षा राखेका विद्यार्थीलाई विद्यालय समयमा ४ घण्टी पढेपछि एसईई तयारीका लागि घर पठाउने गरेको अधिकारीले जानकारी दिनुभयो ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको परीक्षा शाखा प्रमुख कृष्णगोपाल श्रेष्ठले २ सय ५८ जना विद्यार्थीले एसईई परीक्षाको तयारी गरिरहेको बताउनुभयो । परीक्षा दिने अधिकांश विद्यार्थीले उत्कृष्ट अंक ल्याउने अपेक्षा विद्यालयले राखेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ४ जीपीए ल्याउने सम्भावना भएका विद्यार्थी ३ जना भए पनि विद्यालयको नतिजा उपलब्धीपूर्ण हुनेछ । करिब ३५ जना विद्यार्थी कमजोर रहेको उहाँको भनाई छ । परीक्षा आउन करिब तीन साता बाँकी रहेकाले ती कमजोर विद्यार्थीलाई पनि विशेषरुपमा विद्यालयले परीक्षाको तयारी गराइरहेको उहाँले जानकारी दिनुभयो ।