हेटौंडाः स्वास्थ्य बीमा कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम मध्येको एक हो । न्यूनतम शूल्कमा सहभागी भई लाख बराबरको स्वास्थ्य सेवा लिन सकिने भएकोले लोकप्रिय कार्यक्रमको जस लिन राजनीतिक दलबीच हानाथाप भए पनि सेवाप्रवाहलाई प्रभावकारी बनाउनतर्फ भने राजनीतिक दलहरुले जिम्मेवारी महसुस गर्न सकेका छैनन् । बीमा कार्यक्रमले स्वास्थ्य संस्थामा सेवाग्राहीको चापको तुलना सेवाप्रवाहलाई प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार र प्रविधिमा सुधार गर्न सरकारको ध्यान पुग्न नसक्नु एउटा समस्या हो भने सेवाप्रदायक संस्थाले सेवा प्रवाहपछि प्राप्त गर्नुपर्ने भुक्तानी दिलाउन स्वास्थ्य बीमा बोर्ड सक्षम छैन ।
मकवानपुर जिल्लाका तीन ठूला स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य बीमामा सहभागी नागरिकको सेवा गरेवापत स्वास्थ्य बीमा बोर्डबाट २० करोड भन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको जनाएको छ । बागमती प्रदेश सरकारमातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पतालले झण्डै ९ करोड रुपैयाँ बीमा बोर्डबाट भुक्तानी लिन बाँकी रहेको हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा बताउनुहुन्छ । अस्पतालको आन्तरिक अवस्था सवल भएकै कारण तत्कालका लागि त्यत्ति धेरै जटिलता नभए पनि ठूलो रकम बक्यौता रहनु भने चुनौतिको विषय भएको डा. सापकोटा बताउनुहुन्छ । मासिकरुपमा धेरथोर रकम प्राप्त भइरहेको र सेवाप्रवाहमा गम्भीर चुनौति नभएको उहाँ बताउनुहुन्छ ।
यता हेटौंडा–११, थानाभ¥याङस्थित चुरेहिल हस्पिटलले गत बैशाखदेखि बीमावापतको रकम प्राप्त नगरेकै कारण सेवा प्रदान गर्ने दरमा कटौति गरेको चुरेहिल हस्पिटलका अधिकारीको भनाइ छ । चुरेहिल हस्पिटलले स्वास्थ्य बीमा बोर्डबाट ७ करोडको हाराहारीमा भुक्तानी लिन बाँकी रहेको चुरेहिल हस्पिटलले जनाएको छ । भुक्तानी लिनै गाह्रो हुने र भुक्तानी पनि ढिलो हुने भएपछि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकेको र पछिल्लो समय बीमाप्रति कमै ध्यान पुगेको अस्पतालका अधिकारीको भनाइ छ ।
यता हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा स्वास्थ्य बीमा बोर्डबाट ठूलो रकम भुक्तानी लिन बाँकी भएको भन्दै यथाशिघ्र भुक्तानी गरिदिन माग गरेको छ । ठूलो रकम भुक्तानी लिन बाँकी रहँदा अस्पतालको सेवा प्रभावित हुने सम्भावना बढेको अस्पतालले जनाएको छ । अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई पत्र लेखी बीमाको रकम भुक्तानी गर्न आग्रह गरेको छ ।
दैनिक ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी सेवाग्राहीलाई प्रदान गर्दै आएको हेटौंडा सामुदायिक आँखा अस्पतालले गत माघ महिनामा ५२ लाख ८७ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेको जनाएको छ । बीमा कार्यक्रमका सेवाग्राही बढी आउनुले अस्पतालको आम्दानीको प्रमुख स्रोत पनि स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुने रकम नै भएको अस्पतालका प्रमुख डा. सुनिल थकाली बताउनुहुन्छ । तिलगंगा आँखा प्रतिष्ठानको शाखाको रुपमा संचालन भइरहेको अस्पतालले संचालन खर्च आफ्नै आम्दानीको श्रोतबाट जुटाउँदै आएको छ ।
हेटौंडा सामुदायिक आँखा अस्पतालमा आर्थिक वर्ष २०७४÷०७५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो । बीमा कार्यक्रमबाट विपन्न वर्ग लाभान्वित भइरहेको अस्पतालका प्रमुख डा. सुनिल थकालीले उल्लेख गर्नुभएको छ । स्वास्थ्य बीमा बोर्डबाट रकम भुक्तानी नहुँदा अस्पतालको दैनिक सेवा तथा बिरामीको उपचार एवम् शल्यक्रियामा प्रयोग हुने औषधि तथा अन्य सामग्री खरिद गर्न रकम अभाव हुनुका साथै कर्मचारीहरुको तलबको व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले बोर्डलाई लेखेको पत्रको बोधार्थ हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई पनि पठाएको छ ।