हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाको सेवा विस्तार भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडाले चितवन जिल्लामा उपलब्ध हुने सेवा बराबरकै सेवा प्रदान गर्ने भएको छ । यसअघि रगत मात्रै उपलब्ध गराउँदै आएको रक्तसञ्चार केन्द्र हेटौंडाले अबदेखि रक्त तत्व छुट्याएर सेवाग्राहीको आवश्यकताअनुसार रगत वा रक्ततत्व मात्रै उपलब्ध गराउन सक्ने भएको छ ।
रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहालका अनुसार अमेरिकी रेडक्रसको सहयोगमा करिब ५० लाख रुपैयाँ बराबरको सेन्ट्रिफ्युज मेसिन प्राप्त भएको छ भने हेटौंडा उपमहानगरपालिकाले रगत र रक्ततत्व सुरक्षित राख्न आवश्यक उपकरण खरिद गर्न १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । यस्तै मनहरी गाउँपालिकाले पनि सेवा विस्तारका लागि कार्यालय व्यवस्थापन गर्न ७ लाख रुपैयाँ उपलब्ध गराएको दाहालले जानकारी दिनुभएको छ ।
रक्तसञ्चार केन्द्रले सेवा विस्तारका लागि आवश्यक तयारी पूरा गरेर रक्ततत्व छुट्याउने कार्यको परीक्षण समेत पूरा भएको र अबदेखि रक्ततत्व समेत छुट्याएर आवश्यकताअनुसार सेवाग्राहीलाई उपलब्ध गराउन सकिने केन्द्र प्रमुख दाहालले स्पष्ट पार्नुभएको छ । अबदेखि सेतो रक्त तत्व, रातो रक्ततत्व, प्लेट्लेट्स र प्लाज्मा छुट्टा–छुट्टै उपलब्ध गराउन सकिने भएको छ । प्राविधिक जनशक्तिको रुपमा रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटालाई तालिममा सहभागी गराएर तयार पारिएको छ ।











