हेटौंडाः बागमती प्रदेशमा विभिन्न घटनामा परी एकैदिन ४ जनाको मृत्यु भएको छ । बुधबार मकवानपुर, चितवन, धादिङ र सिन्धुली गरी ४ जिल्लामा ४ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
मकवानपुर जिल्लामा राप्ती खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१, बयलबासकी ४३ वर्षीया मुना लिम्बु रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ ६ः३० बजेको समयमा राप्तीखोलामा माछा मार्ने क्रममा अचानक छारेरोग लागि खोलामा लडेकी मुनाको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको हो । मुचुल्का पश्चात लिम्बुको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर–२३, कसरामा माउतेको काम गरी बस्ने एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा नवलपरासी कावासोती–१५ घर भएका ३७ बर्षीय सिखाराम महतो आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महतो छारे रोगको बिरामी समेत भएको प्रहरीले उल्लेख गरेको छ ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५, चैनपुरमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ बर्षीय चिन बहादुर थापा मगर रहेको प्रहरीले जनाएको छ । मगर आफ्नै घर नजिक रहेको च्यानडाँडा जङ्गलमा घाँस काट्न जाने क्रममा सालको रुखबाट लडी घाईते भएका थिए । उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मगरको बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै सिन्धुली जिल्लाको दुधौली नगरपालिका–६, ढोडेनीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने २४ बर्षीया अस्मिता अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अस्मिता आफ्नो घरमा सुतेको अवस्थामा अचेत फेला परेपछि बाबुले उपचारका लागि सिराहा जिल्लाको हर्जनास्थित फुल कुमारी महतो मेम्मोरियल अस्पताल पुर्याएका थिए । अस्पतालका डाक्टरले अस्मिताको बाटोमै मृत्यु भएको घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।











