हेटौंडाः अन्तर्राष्ट्रिय महिला अधिकार दिवसको पूर्वसन्ध्यामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको उपस्थितिमा मंगलबार साँझ हेटौंडा–४, शितलमहल चोकमा दीप प्रज्वलन गरिएको हो ।

लैंगिक हिंसाविरुद्ध पुरुष सहभागिता सञ्जाल (मेन ईगेज एलायन्स) का मकवानपुर जिल्ला अध्यक्ष प्रकाश खतिवडाले महिलामाथि हुने हिंसाविरुद्ध पुरुषको सहभागिताको प्रतिवद्धतास्वरुप दीप प्रज्वलन गरिएको जानकारी दिनुभएको छ । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै फ्रेन्डस हेटौंडाको अध्यक्ष किरण थापाले संयुक्त रुपमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै संविधानमा महिला, पुुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समान अधिकार भएकोले व्यवहारमा कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाकी चन्दा ब्यञ्जनकार, हेटौंडा उपमहानगर पालिकाको सामाजिक विकाश महाशाखा प्रमुख बिष्णु कुमारी लामिछाने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र जिल्ला प्रहरी कार्यालयकी चुँडा कुमारी खड्का, फेन्ड्स हेटौंडाका प्रमुख किरण थापालगायतको आतिथ्य रहेको थियो ।