मुख्यमन्त्री डोरमणि पौडेल सवार गाडी स्यानिटाइजिङ टनेलमा ।

हेटौंडाः प्रदेश नम्बर २ बाट बागमती प्रदेश प्रवेश गर्ने सवारीसाधनलाई स्यानिटाइज गर्न बागमती प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको रातोमाटेमा स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याएको छ । हेटौंडा–१५, रातोमाटेमा स्थापना गरिएको सेल्फसेन्सरसहितको स्यानिटाइजिङ टनेलको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री चढ्ने जीपलाई स्यानिटाइज गरेर टनेलको उद्घाटन गरिएको हो ।

स्यानिटाइजिङ टनेलमा मालबाहक ट्रक ।

प्रदेश सरकारले दुई लाख ७० हजार रुपैयाँ लागतमा स्यानिटाइजिङ टनेल निर्माण गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्य प्रदेशबाट बागमती प्रदेश प्रवेश गर्ने सडकमार्गमा सवारीसाधनको स्यानिटाइज गर्ने कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिने बताउनुभयो । प्रदेश प्रवेश गर्ने विभिन्न नाका मध्ये २ नम्बर प्रदेशसँगको नाकामा पहिलो स्यानिटाइजिङ टनेल निर्माण गरेको प्रदेश सरकारले थप नाकामा पनि टनेल निर्माण गरिने उहाँको भनाइ छ ।

स्यानिटाइजिङ टनेल निर्माणमा मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडा उपमहानगरपालिकासँगै रातोमाटेका स्थानीयले पनि सहयोग गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो । यसअघि हेटौंडा उपमहानगरपालिकाले रातोमाटेमै मानिसलाई स्यानिटाइज गर्ने स्यानिटाइजर मेसिन सञ्चालनमा ल्याएको थियो ।