हेटौंडाः दालमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका बारा जिल्लाका ६ जना उद्योगी धरौटीमा छुटेका छन् । बीरगंज–पथलैया करिडोर अन्तर्गत बारा जिल्लामा रहेका उद्योगीहरूले लकडाउनमा बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको सूचनाका आधारमा ६ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुलाई बैशाख १४ गते बारा प्रहरीले पक्राउ गरेको थियो । लकडाउन अघि प्रतिकजी मसुरोको दाल प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा कारोबार भइरहेकोमा व्यापारीले ९४ रुपैयाँदेखि ९८ रुपैयाँसम्ममा कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको थियो ।

नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका प्रोप्राईटर मोहनलाल अग्रवाल १८ लाख ५० हजार, सोहि कम्पनिका प्रतिनिधि सुनिल शर्मा १ लाख ५० हजार, श्रीकृष्ण आधुनिक दाल उद्योगका प्रोप्राईटर पवन कुमार साह १९ लाख १७ हजार, सोहि कम्पनीका प्रतिनिधी सुरेश प्रसाद १ लाख ५० हजार, महावीर ओभरसिज प्रालिका प्रोप्राईटर मुक्ति कुमार अग्रवाल २१ लख ६५ हजार र सोही कम्पनीका प्रतिनिधी सन्तोष कुमार झा १ लाख ५० हजार धरौटी रकम तिरेर छुटेका हुन् ।

उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा धरौटी रकम दाखिला गरी तारेखमा छाडिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।