हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेन्डरी स्कुलका विद्यार्थीलाई विपद् व्यवस्थापनबारे प्रशिक्षण दिएकोे छ । विद्यालयको आयोजना तथा बालजागृति बाल समुहको सह–आयोजनामा ८ कक्षाका विद्यार्थीलाई विपद् व्यवस्थापनको पूर्वाभ्यासबारे प्रशिक्षण दिइएको विद्यालयका सहायक प्रिन्सीपल अमुल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रशिक्षणमा कक्षा ८ का ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीलाई आगजनी, बाढी, पहिलो, वर्षा जस्ता जोखिमका बेला अपनाउनु पर्ने सावधानी, विपद्मा परेर घाइते भएकाहरुको उद्दार तथा प्राथमिक उपचारको विधिका बारेमा जानकारी गराइएको छ । नेपाल स्काउट बागमती प्रदेश समितिका सदस्य अशोक सारु मगर र स्काउट प्रशिक्षक निशा गौतमले विद्यार्थीलाई विपद् व्यवस्थापनबारे प्रशिक्षण दिनुभएको थियो । अहिले कक्षा ९ र १० का विद्यार्थीको परीक्षा मिति नजिकिएकाले कक्षा ८ का विद्यार्थीलाई मात्र प्रशिक्षण दिइएको सहायक प्रिन्सीपल श्रेष्ठले बताउनुभयो ।
विद्यालयका प्रिन्सीपल विनोद सुवेदीको सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त कुमार बानियाँको पनि आतिथ्य रहेको थियो ।