हेटौंडाः चर्को बैंक व्याजले सम्पूर्ण उद्योगी, व्यवसायीहरु आर्थिक एवम् मानसिक रुपमा प्रताडित हुनुपरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडामा बैंक तथा वित्तीय संस्थाको विरोधमा प्रदर्शन भएको छ । आइतबार राजनीतिक दल, विभिन्न संघ संस्था, संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सामुहिक उपस्थितिमा विरोध प्रदर्शन भएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघले ७ दिन विरोध प्रदर्शन कार्यक्रमको तय गरेको छ । विरोध प्रदर्शनको पहिलो दिन आइतबार पल्पसा सदनमा भेला भएर कालो व्यानर र विरोध कार्यक्रमको पत्रसहित बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापनपत्र वुझाएका छन् । दोस्रो दिन फागुन २४ गते दिउँसो १ बजे बुद्धचोकमा बागमती प्रदेशस्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा व्यानर सहितको शान्तिपूर्ण धर्ना गर्ने जनाएको छ । यस्तै, तेस्रो दिन फागुन २५ गते बैंकहरुमा विहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा धर्ना कार्यक्रम गर्ने बताइएको छ ।
चौथो दिन फागुन २६ गते बैंकहरुमा विहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा धर्ना बस्ने, पाँचौ दिन फागुन २८ गते बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने, छैठौँ दिन फागुन ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने र अन्तिम दिन फागुन २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

कार्यक्रममा व्यवसायीहरुले बैंकिङ्ग व्याजदर १ अंकमा कायम गर, बैंकिङ्ग व्याजदरमा एकरूपता कायम गर, अवस्था सामान्य नहुन्जेल धितो लिलामी बन्द गर, सहुलियत कर्जा १५ लाखबाट २५ लाख सम्म कायम गर, व्याज प्रिमियम दर बढीमा २% मा कायम गर, बैंक तथा वित्तीय क्षेत्रले गर्ने लगानीको कम्तिमा ५०% साना तथा मझौला व्यवसायीमा गर्नुपर्ने, कर्जा सेवा शुल्क ०.२५% भित्र कायम गर, ओभरड्राफ्टलाई सहज र सरलीकरण गर, संकटग्रस्त व्यवसायीको पहिचान गरी आर्थिक राहत प्याकेज प्रदान गर भन्ने माग लेखिएका प्लेकार्डसहित व्यवसायीले प्रदर्शन गरेका छन् ।