सांकेतिक तस्बीर ।

हेटौंडाः आजदेखि हेटौंडा काठमाडौं जोड्ने कान्तिलोकपथको मर्मत सम्भारका लागि दुईतर्फी आवागमन बन्द भएको छ । आजदेखि बन्द गरिएको सडक चैत १० गतेसम्म बन्द हुनेछ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा गएको सोमबार हेटौंडामा बसेको बैठकले कान्तिलोकपथमा फागुन १८ गतेदेखि चैत १० गतेसम्म दुवैतर्फबाट सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो । कान्तिलोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

हेटौडाबाट काठमाडौं जान हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन हुनेछ र काठमाडौंबाट हेटौंडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।