हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा ५० चेपाङ परिवारलाई घर उपलब्ध गराइने भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेपाङ, वनकरिया, माझी र बोटे एकीकृत बस्ती तथा आवास निर्माणसम्बन्धी कार्यविधि २०७९ अनुसार राक्सिराङमा एकीकृत बस्ती अन्तर्गत चेपाङ परिवारका लागि ५० घर निर्माण गर्न लागेको हो ।

एउटा घर निर्माणका लागि ४ लाख रुपैयाँ बजेट रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभएको छ । उहाँले कम्तिमा १० घरपरिवारलाई एकै ठाउँमा रहने गरी एकीकृत बस्ती निर्माणको योजना रहेको बताउनुभयो । एकीकृत बस्तीमा बस्न ईच्छुक चेपाङ परिवारसँग पालिकाले ७ दिने सूचना निकालेर निवेदन माग गरिसकेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले निवेदन अध्ययन गरेर लाभग्राही छनौट गरिने बताउनुभयो ।

कार्यविधि अनुसार चेपाङ समुदायको सामाजिक, साँस्कृतिक मूल्य–मान्यता सुहाउँदो किसिमको आवासको ढाँचा प्रदेश मन्त्रालयले उपलब्ध गराउने छ । प्रदेश मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले आवासीय भवन निर्माण गर्नेछ । पहिरो वा सडक निर्माणका कारणले विस्थापित भएका, खरको छानो भएका, ऐलानी जग्गामा घर भएकाहरुलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर प्रजाले बताउनुभयो ।

जग्गा नभएकाहरुलाई जग्गा उपलब्ध गराएर एकीकृत बस्ती निर्माण गरिनेछ भने जग्गा भएका तर आवासको समस्या भएकाहरुलाई सम्बन्धितको जग्गा भएकै ठाउँमा घर निर्माण गरिने उहाँको भनाइ छ । एकीकृत बस्ती निर्माण गरिएको स्थानका लागि आवश्यक पर्ने पूर्वाधारहरु सडक, बिजुली, खानेपानी, ढल, खुल्ला क्षेत्र लगायतको निर्माण कार्य प्रदेश सरकारले नैं गर्ने गरी कार्यविधि तयार गरिएको छ ।