बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकामा बालविवाह अन्त्य गर्न चुनौती देखिएको छ । यसअघि नै बालमैत्री घोषणा भइसकेका मनहरी, बकैया तथा मकवानपुरगढी गाउँपालिकामा समेत बालविवाह अन्त्य हुन नसकेको अवस्थामा हेटौंडामा पनि बालविवाह अन्त्य गर्न निकै कठिनाई हुने देखिन्छ । आगामी मंसिरसम्म बालमैत्री पालिका घोषणाका लागि वडा तथा टोलस्तरमा सचेतनामूलक एवम् अन्य कार्यक्रम भइरहेको अवस्थामा हुन लागेको दुईवटा बालविवाह रोकिएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४ र १७ मा हुन लागेको बालविवाह एक साताअघि रोकिएको हो । बालमैत्री घोषणाको तयारीका लागि उपमहानगरपालिकाले नियुक्त गरेको वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सक्रियतामा बालविवाह रोकिएको हो । १८ वर्षभन्दा कम उमेरका बालबालिकाको विवाहका लागि दुबै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्न नमिल्ने भनी जानकारी गराउँदै बालविवाह रोकिएको बताइएको छ । यसअघि पनि हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १९ मा वडा कार्यालय र जनप्रतिनिधिको सक्रियतामा बालविवाह रोकिएको थियो ।

कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गरेमा दण्डनीय मानेको अवस्थामा बालविवाह हुनुले राम्रो संकेत गर्दैन । मकवानपुर जिल्लामा अझै पनि बालविवाह व्यापक हुने गरेको प्रमाण यहाँको स्वास्थ्य संस्थामा आउने किशोरी गर्भवतीको तथ्यांकले प्रष्ट पार्दछ । मकवानपुरको हेटौंडा अस्पतालमा मात्रै मासिक औसत २० जनाभन्दा बढी किशोरीले बच्चा जन्माउने तथ्यले बालविवाह चुनौतीपूर्ण रहेको मान्न सकिन्छ । जिल्लाका ३ वटा स्थानीय तह बालमैत्री घोषणा भइसकेको र अन्य स्थानीय तहहरु बालमैत्री घोषणाको तयारीमा रहँदा समुदायमा बालविवाह भइरहनुले चुनौती बढाएको छ । विगतमा अभिभावकमा चेतनाको कमीले अभिभावककै करकापबाट बाल विवाह हुने गरेको भए पनि पछिल्लो समय बालबालिकाले नै आफूखुशी विवाह गर्ने क्रम व्यापक बनेको छ । मोबाइल फोन तथा सामाजिक सञ्जालको प्रभावले बालबालिकाबीच प्रेम सम्बन्ध हुने भएकाले अपरिपक्व उमेरमै विवाहको लागि तयार हुने क्रम बढिरहेको छ ।

बालविवाह कानुनीरुपमा दण्डनीयमात्र नभई सामाजिक, आर्थिक र प्रजनन स्वास्थ्यका दृष्टिकोणले अनुपयुक्त छ । पढ्ने, खेल्ने र रमाउने उमेरमा विवाह गर्दा शिक्षा आर्जनको क्रम अवरुद्ध हुन्छ । यसले बालविवाह गर्ने केटा–केटी दुबैको भविष्य सुखद् हुन सक्दैन । सानै उमेरमा विवाह गर्दा पारिवारिक विचलनसमेत आउने गरेको छ । बालविवाह गर्नेमात्र नभई २० वर्षभन्दा कम उमेरमै आमा बन्नेको संख्या उल्लेख्य रहनु थप चिन्ताको विषय बनेको छ । बालविवाहलाई एउटा जटिल सामाजिक समस्या तथा विकृतिको रुपमा लिने गरेको भए पनि बालविवाह अन्त्य नहुनुले हाम्रो समाजको चेतनास्तर कमजोर रहेको देखाउँछ । बालविवाहले किशोरावस्थामै आमा बन्नुपर्ने बाध्यता सिर्जना गरेको छ । सानै उमेरमा विवाह गर्दा केटा र केटी दुबैले परिपक्व निर्णय लिन नसक्ने भएका कारण घरायसी विवाद र बेमेल बढ्ने गरेको छ ।

हेटौंडालाई बालमैत्री उपमहानगर घोषणाको तयारी भइरहेको अवस्थामा बालविवाह रोकिनुलाई तयारीको सफलता मान्न सकिए पनि बालविवाह हुन खोज्नुले राम्रो संकेत गर्दैन । बालमैत्री घोषणाका लागि उपमहानगरपालिकाले नै बालश्रम र बालविवाहको समस्यालाई मुख्य चुनौती मानेको छ । हेटौंडामा बाहिरी जिल्लाबाट आएर श्रममा संलग्न हुने बालबालिका पनि उल्लेख्य पाइएको र बालविवाह हुने क्रम नरोकिएको अवस्थामा हतारमा बालमैत्री घोषणा गर्नुको औचित्य हुँदैन । बालमैत्री घोषणाका लागि चुनौती बनेको यस्ता समस्या अन्त्यलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ । कागजी दस्तावेजमात्र तयार गरेर हतारमा बालमैत्री घोषणा गरेर आलोचित हुनुभन्दा पर्याप्त तयारी र सबै सूचक वास्तविकरुपमै पूरा भएपछि बालमैत्री घोषणा गर्नु उचित हुनेछ ।