हेटौंडाः नेपाल उद्योग वाणिज्य महासंघ र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा हेटौंडामा एक दिवसीय रोजगारदाता भेला आयोजना गरिएको छ । उद्योग प्रतिष्ठानहरुको आवश्यकताअनुुसारको दक्ष जनशक्ति उत्पादन एवम् आपूर्ती गरी रोजगारी सृजना गर्ने प्रमुुख उद्देश्यले सोमबार रोजगारदाता भेला भएको हो । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा कार्यस्थलमा आधारित सीप विकास तालिमहरु संचालन गरिरहेको महासंघले रोजगारदाता भेला गरेको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति उज्वल चौलागाईको सभाध्यक्षता तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा भेला भएको हो । रोजगारदाता भेलामा श्रम तथा यातायात कार्यालय हेटौंडाका कारखाना निरीक्षक चन्द्र नारायण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका विज्ञ खेमराज काफ्ले, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव दिपक उप्रेती, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा एमएम पोलिमर्सका महाप्रवन्धक विजय कुमार वैद्य, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक तथा परियोजना संयोजक अजित गुप्ता, उद्योगपति बासु कार्कीलगायत विभिन्न उद्योग प्रतिष्ठानका प्रवन्धकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सभाध्यक्ष उज्वल चौलागाईले कार्यक्रमको आवश्यक्तालाई मध्यनजर गरी आयोजना गरिएको र उद्योग प्रतिष्ठान यस्ता कार्यक्रमहरुबाट लाभान्वित हुनसक्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले हेटौंडामा नयाँ उद्योगहरु स्थापना गर्नुपर्ने बताउनु भएको छ । बागमती प्रदेश सरकारले श्रम तथा रोजगार नीतिलाई व्यवस्थित गर्न ड्राफ्ट तयारीको कार्य भइरहेको, सीप विकासका लागि आवश्यक कार्यविधि अन्तिम चरणमा रहेको र १० हजार नागरिकलाई रोजगार बनाउने योजना कार्यान्वयन गर्न गइरहेको मन्त्री श्रेष्ठले बताउनु भएको छ ।