हेटौंडाः बालमैत्री सम्पर्क व्यक्ति र सहजकर्ताहरुको बालमैत्री स्थानीय शासन सम्बन्धी ४ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको क्षमता विकास तालिम सोमबार सम्पन्न भएको हो । ४ दिने तालिममा राष्ट्रिय बालमैत्री सहजकर्ता विष्णुप्रसाद चौवेले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।
चौवेले पहिलो दिन शुक्रबार बालमैत्री स्थानीय शासन र बालअधिकारको बारेमा परिचय, क्षेत्रहरु, ऐतिहासिक विकासक्रम, बालअधिकारको कानुनी, नीतिगत र दिगोपनाको बारेमा प्रशिक्षण दिनुभएको थियो । दोश्रो दिन शनिबार बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रिया, बालअधिकार समिति र ५१ वटा सूचकहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । तेस्रो दिन आइतबार उहाँले अर्थपूर्ण बाल सहभागिता, बाल समूह गठन प्रक्रिया र असल बैठक कसरी बस्ने भन्ने विषयमा तालिम दिनुभएको थियो । जसमा उहाँलाई काभ्रे जिल्लाको पनौती नगरपालिकाका वडा सहजकर्ता गीता तिमल्सिनाले पनि सहयोग गर्नुभएको थियो ।
यस्तै तालिमको अन्तिम दिन सोाबार हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका बालमैत्री वडा सहजकर्ताहरु र नगर सहजकर्ताले ३ दिन सिकेका कुराहरू प्रस्तुत गर्नुभएको थियो । बालमैत्री सहजीकरण समितिका संयोजक तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले सबै बालमैत्री वडा सहजकर्ता, नगर सहजकर्ता र बालमैत्री सम्पर्क व्यक्तिलाई काम सहजताका लागि १–१ थान झोला वितरण गर्नुभएको छ । सोमबार तालिमको समापन समारोहमा हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछाने, शाखा प्रमुख बिना थिके, सामाजिक विकास समितिका सदस्य युवराज खतिवडा लगायतको उपस्थिति रहेको थियो ।