प्रदेश खेलकुद विकास परिषद्ले जारी गरेको सूचना ।

हेटौंडाः नयाँ पुस्ताका खेलाडीलाई पहिलो पटक प्रतिस्पर्धाको अवसर दिलाउने नोभिस बक्सिङ प्रतियोगिताको मिति सरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा यही फागुन १६ गतेदेखि २० गतेसम्म हेटौंडामा आयोजना गर्न लागिएको “अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता–२०७९” को मिति सरेको हो ।

प्रदेश खेलकुद विकास परिषद्ले शुक्रबार एउटा सूचना प्रकाशित गरी फागुन ३० गतेदेखि चैत ४ गतेसम्म प्रतियोगिता आयोजना गर्ने उल्लेख गरेको छ । विशेष कारणले प्रतियोगिता सार्नु परेको परिषद्ले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । प्रतियोगिता सार्नुको प्रमुख कारण भने प्रदेश सरकारबाट बजेट निकाससम्बन्धी प्राविधिक समस्या हो । शालिकराम जमकट्टेल नेतृत्वको प्रदेश सरकारले प्रदेशको खेलकुद मन्त्रालय खारेज गरेर सामाजिक विकास मन्त्रालय मातहत खेलकुदलाई समावेश गरिएपछि विनियोजन गरिएको बजेट निकासका लागि प्राविधिक समस्या भएको बुझिएको छ ।

केही दिनमै प्रदेश सरकारले विनियोजन गरेको बजेट निकास हुने र फागुन अन्तिमदेखि चैत पहिलो सातासम्म प्रतियोगिता सञ्चालन हुने बताइएको छ । प्रदेश सरकारले प्रतियोगिता आयोजनाका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।