हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरको आसन्न अधिवेशनमा वर्तमान अध्यक्ष नारायणलाल श्रेष्ठ र सहकोषाध्यक्ष विष्णु थापाको दावी रहेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार उम्मेदवारी दर्ताको प्रक्रिया पूरा भएको छ । साधारणसभा तथा अधिवेशनको कार्यक्रम आगामी शनिबार हुनेछ ।
निर्वाचन प्रक्रियामा श्रेष्ठ र थापा प्यानलै बनाएर निर्वाचनमा होमिएका छन् । नारायणलाल श्रेष्ठ नेतृत्वको टिममा उपाध्यक्षमा सगुन गुरुङ लामा, महासचिवमा देवनारायण साह, सचिवमा विजय साह, कोषाध्यक्षमा सलामसिं लामा, सहकोषाध्यक्षमा रामु दराई, सदस्यमा निलम वैद्य, कृष्णहरि न्यौपाने र नेहा झाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यता बिष्णु थापा नेतृत्वको टिममा उपाध्यक्षमा संघर्ष गुरुङ, महासचिवमा भरत बहादुर कार्की, सचिवमा यादव अर्याल, कोषाध्यक्षमा ङाजी लाल लामा, सह–कोषाध्यक्षमा किशन गुप्ता, सदस्यमा अनिष सुवेदी, सविना बिडारी र सुरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । औषधी व्यवसायी संघको अधिवेशनमा १ सय १६ व्यवसायीको मताधिकार रहेको छ ।
दोस्रो कार्यकालका लागि अध्यक्षका आकांक्षी नारायणलाल श्रेष्ठले आफ्नो नेतृत्वमा पहिलो कार्यकालमा संघलाई संस्थागत गर्ने कार्य भएको र दोस्रो कार्यकालमा संघलाई थप सुदृढ पार्ने बताउनुभयो । पहिलो कार्यकालमा मेडिकल, पोलिक्लिनिकको नवीकरण रोकिएको अवस्थालाई आवश्यक सहजीकरण गरी नवीकरण गर्ने वातावरण बनाएको, कोभिड–१९ महामारीका बेला व्यवसायीमाथि परेका समस्यालाई समाधान गरिएको उल्लेख गर्दै श्रेष्ठले भन्नुभयो, “संघको नियमित साधारणसभा, व्यवसायीको अद्यावधिक गर्ने कार्य गरी संघलाई संस्थागत बनाएको छु । अब संघलाई थप सुदृढ बनाउन पनि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको हुँ ।” दोस्रो कार्यकालमा व्यवसायीका लागि कोषको व्यवस्था गर्ने, मापदण्डअनुसारको व्यवसाय सञ्चालन गर्ने वातावरण बनाई व्यवसायीले समस्या नै व्यहोर्न नपर्ने वातावरण बनाउने श्रेष्ठको भनाइ छ ।
यता अर्का आकांक्षी बिष्णु थापाले आफूले सहकोषाध्यक्षको पदमा रहेर पनि कोषाध्यक्षको जिम्मेवारी पूरा गरेको उल्लेख हुँदै जिल्लाको नेतृत्व गर्न चाहेको र आफूले परिवर्तनका लागि अध्यक्षमा उम्मेदवारी दिएको दावी गर्नुभयो । वर्तमान अध्यक्ष नारायणलाल श्रेष्ठलाई जिल्ला छाडेर प्रदेश समितिमा जान आग्रह गरे पनि उहाँले नमान्नु भएको थापाको भनाइ छ । श्रेष्ठले टिम बनाएर अगाडि बढेपछि आफूहरु पनि टिममा अगाडि बढेको थापाले स्पष्ट पार्नुभएको छ ।