गुगल तस्विर ।

हेटौंडाः शनिबार विभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार करेन्ट लागेर, झुण्डिएर, लडेर र मार्बल झर्दा मृत्यु भएको जनाएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-३ स्थित बगरखोलामा करेन्ट लागेर सरोज थारुको मृत्यु भएको छ । बर्दिया जिल्लाको गुलरीया नगरपालिका-८ का २२ वर्षीय थारुको गुम्बागाउँमा रहेको ११ हजार भोल्टेजको हाइटेशन लाईनको लत्रेको तार बनाउने क्रममा मृत्यु भएको हो ।

यस्तै, सिन्धुपाल्चोक जिल्लाकै चौतारा साँगाचोकगढी-१३ अर्चलेमा शुक्रबार विषादी खुवाएर फरार रहेका कमल कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शनिबार धादिङ जिल्लाको धुनिबेशी नगरपालिका-२ महेशफाँटका ३७ वर्षीय कँडेल मृत फेला परेका छन् ।

यसैगरी रामेछाप जिल्लाको मन्थली नगरपालिका-२, करमबोट सोतिमा धनबहादुर खड्का मृत फेला परेका छन् । तामाकोशि नदिले बगाइरहेको अवस्थामा दोलखा जिल्लाको तामाकोशि-५, शहरे भंगेरीका ४५ वर्षीय खड्का मृत फेला परेका हुन् । गत माघ २० गतेदेखि परिवारबाट खड्का सम्पर्कविहीन रहेका थिए।

यस्तै, रामेछाप जिल्लाको गोकुलगंगा-२ स्थित ठोसेमा लडेर हेमराज श्रेष्ठको मृत्यु भएको छ । सोही स्थानका ४५ वर्षीय श्रेष्ठको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका-९ स्थित पारसपार्कमा मार्बल झार्ने क्रममा घाईते भएका सोनु अन्सारीको मृत्यु भएको छ । बारा जिल्लाको विश्रामपुर गाउँपालिका-२ का २० वर्षीय सोनुको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो । ना ५ ख २१८७ नम्बरको ट्रकबाट मार्बल अन लोड गर्ने क्रममा सोनु घाईते भएका थिए ।