हेटौंडाः बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीमा इन्धन, पुस्तकालय र यातायातको व्यवस्था गरिने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार जिल्ला कारागार सिन्धुलीको निरिक्षण गर्नुहुँदै मन्त्री श्रेष्ठले सिन्धुली कारागारका कैदीबन्दीका समस्याहरु समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।
सवारी साधनको अभावमा कैदीबन्दी बिरामी भएको अवस्थामा अस्पताल लैजान तथा अदालत हाजिर गराउन कारागार कार्यालयलाई समस्या भएको भन्ने जानकारीपछि मन्त्री श्रेष्ठले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
जिल्ला कारागारको क्षमता २ सय ५० जना कैदीबन्दी राख्न सकिने भएपनि पुरुष ७ सय ७९ जना, महिला ९१ जना कैदीबन्दी र कैदीबन्दीका आश्रित बालबालिका १४ जना कारागारमा छन् । कैदीबन्दीहरुले हालसम्म दाउरा प्रयोग गरेर नै खाना बनाउनुपर्ने बाध्यता रहेको मन्त्री श्रेष्ठ समक्ष गुनासो गरेका छन् । मन्त्री श्रेष्ठले कैदीबन्दीलाई तत्काल खाना पकाउने ग्यासको व्यवस्था गरिने प्रतिबद्वता जनाउनुभयो ।
बेरोजगार कैदीबन्दीलाई आयमुलक सीप सिकाउने व्यवस्था गरी त्यहाँबाट उत्पादित सामग्रीहरुको राज्यले खरिद गरेर व्यवस्थापन गरिने समेत बताउनुभयो । मन्त्री श्रेष्ठले कैदीबन्दीको जीवनलाई सहजताका साथै श्रृजनशिल बनाउन कारागारमा व्यवस्थित पुस्तकालयको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
१० वर्षे सशस्त्र द्वन्दको क्रममा ५ वर्ष ३ महिना कैद जीवन बिताउनु भएका मन्त्री श्रेष्ठ हाल बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ । अनुगमनमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, जिल्ला कारागारका प्रमुख कुशल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।