हेटौंडाः मकवानपुरमा तीन दिन विविध कार्यक्रम गरी सालक दिवश मनाइएको छ । हरेक वर्ष फेब्रुअरी महिनाको तेश्रो शनिबार मनाइने विश्व सालक दिवश यो वर्ष मकवानपुरमा तीन दिवशीय कार्यक्रम गरेर मनाइएको हो । यो वर्ष “सालक संरक्षणमा समुदायको नेतृत्व” भन्ने नाराका साथ तीन दिन बिहीबार, शुक्रबार र शनिबार विविध कार्यक्रम गरेर विश्व सालक दिवस मनाइएकोे डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय राप्ती, डिभिजन वन कार्यालय मकवानपुर, साना जीवको पक्षमा काम गर्ने संस्था र ग्रीनहुड नेपालको आयोजनामा विविध कार्यक्रमसहित दिवश मनाइएको आचार्यले बताउनुभयो । उहाँका अनुसार दिवशको अवसरमा बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सालक संरक्षणमा कार्यरत समुह, वनका कर्मचारी, विज्ञ, संचारकर्मी लगायत सरोकारवालाको सहकार्यमा पेङ्गुइन राउण्ड टेबल कार्यक्रम आयोजना गरिएको थियो ।
शुक्रबार मनहरीस्थित डिभिजन वन कार्यालय राप्ती परिसरमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री, जिल्ला समन्वय समिति प्रमुखलगायत स्थानीय तहका जनप्रतिनिधि, वन मन्त्रालय लगायत अन्य सरोकारवालाको उपस्थितिमा मूल कार्यक्रम गर्नुका साथै सालक संरक्षण सम्बन्धी गीत लोकार्पण गरिएको थियो । यसका साथै स्थानीय समुहद्वारा सालक संरक्षणका लागि तयार गरिएको खैजडी भजन सहितको नृत्य कार्यक्रम, कविता वाचन, सालक सम्बन्धी फेस पेन्टिङ, चेतनामुलक वृत्तचित्र प्रदर्शन, सालकको मुकुण्डोसहित प्रदर्शनलगायतको कार्यक्रम आयोजना आयोजना गरिएको उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमको अन्तिम दिन शनिबार लामो समयदेखि सालक संरक्षणमा भूमिका खेल्दै आएको मकवानपुरको रानी र चुच्चेखोला सामुदायिक वनका उपभोक्तासँग छलफल गरिएको आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सालकलाई मकवानपुरको गौरवको जीवको रुपमा राख्ने बताउनुभयो ।