क्वाटरफाइनल प्रवेश गरेको नवप्रतिभाको टिम ।

हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी स्वर्गीय चन्द्रमान राई स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत नवप्रतिभा युवा क्लब मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नक्कली युवा क्लब सिन्धुलीलाई ३–१ गोलअन्तरले पराजित गर्दै नवप्रतिभा क्वाटरफाइनलमा प्रवेश गरेको आयोजक त्रिशक्ति युवा क्लबका सल्लाहकार प्रमोद राईले जानकारी दिनुभयो ।

खेलको पहिलो हाफको ३८ औं मिनेटमा नक्कली क्लबका प्रकाश माझीले गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन । खेलको दोस्रो हाफको १२ औं मिनेटमा नवप्रतिभाका आशिष मोक्तान र खेलको दोस्रो हाफको ४३ औं मिनेटमा सुरेन्द्र राईले गोल गरे । खेलको म्यान अफ द म्याच नवप्रतिभाका आशिष मोक्तान घोषित भए । उनले नगद १ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा दिउँसो १२ बजे प्रकाश स्मृति क्लब र बकैया ग्रामीण एकता क्लब बीच हुनेछ । यस्तै दोस्रो खेलमा दिउँसो २ बजे कोपिला युवा क्लब र साततले युवा क्लब बीच हुनेछ । विजयी टिमले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले जनही नगद ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुने आयोजकले जनाएको छ ।