हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित ज्ञानोदय बालवाटिका आवासीय विद्यालयले आयोजना गरेको विद्यालयस्तरीय एकल गायन प्रतियोगितामा हेटौंडा–४ स्थित नवोदय शिशु सदन माविका चिराग डंगोल प्रथम हुनुभएको छ । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै डंगोल प्रथम हुनुभएको हो ।
प्रतियोगितामा हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी सुजैना गहतराज द्वितीय हुनुभयो भने आयोजक ज्ञानोदय बालवाटिका आवासीय विद्यालयकी आयुष्मा उप्रेती तृतीय हुनुभयो । यस्तै हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविकी सुनिता बल, हेटौंडा–११, नवलपुरस्थित जेम्स स्कूलकी जेनिशा बर्तौला र मनहरी गाउँपालिकाको युनाइटेड बोर्डिङ स्कूलका शोभित खड्का सान्त्वना हुनुभएको छ ।
कलासाधक भीम विरागको स्मृतिमा विद्यालयले पहिलो पटक गायन प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा २ वटा सरकारी विद्यालय तथा १२ वटा निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
ज्ञानोदय बालवाटिका आवासीय विद्यालयका प्रिन्सिपल श्याम कुमार बानियाँले गायन प्रतियोगितालाई हरेक वर्ष आयोजना गरिने बताउनु भएको छ । विद्यालयका प्रिन्सिपल बानियाँको अध्यक्षता तथा प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष सुशील घिमिरे, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यको पनि आतिथ्य रहेको थियो ।