हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा महिला जनप्रतिनिधि र प्रशासनको टिम विजयी भएको छ ।
५४ औं स्थापना दिवस अतिरिक्त क्रियाकलाप समितिले हेटौंडा–७ नागश्वती खेलमैदानमा आयोजना गरेको मैत्रीपूर्ण खेलमा जनप्रतिनिधितर्फ नगर प्रमुख मिनाकुमारी लामाले नेतृत्व गर्नुभएको टिम र प्रशासनमा प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाइले नेतृत्व गर्नुभएको टिम विजयी भएको हो ।
उपमहानगरका १९ वडामा निर्वाचिन भएका महिला सदस्य सम्मिलित टोलीले उपमहानगरको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले नेतृत्व गरेको प्रशासन टोलीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुङगिएपछि खेलमा टाइब्रेकरमार्फत निर्णय लिइएको थियो ।
यस्तै प्रतियोगिताको पुरुष तर्फको खेलमा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टोली प्रशासनसँग ७–१ गोलअन्तरले पराजित भएको छ । खेलको सुरुवातबाटै प्रशासनको दबदवा रहेको थियो । मैत्रीपूर्ण खेलको उद्घाटन हेटौंडा उपमहानगरकाकी प्रमुख मिनाकुमारी लामाले रेफ्रि सुनिल लोप्चनलाई बल हस्तान्तरण गर्दै गर्नुभएको थियो ।
मैत्रीपूर्ण खेलले एकअर्कामा सौहाद्र्ध सम्बन्धको विकाससँर्गै परिचयको अवसर समेत मिल्ने नगर प्रमुख लामाले बताउनुभयो । अतिरिक्त समितिका संयोजक तथा हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा कार्यक्रम भएको हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत आज बिहीबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा महिला तथा पुरुष भलिबल खेल हुनेछ ।