फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी गाउँपालिकास्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । बुधबार क्वाटरफाइनल चरणका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको प्रतियोगिता संयोजक विजय लामा थिङले जानकारी दिनुभयो ।

बुधबार भएको क्वाटरफाइनलका खेलमा विजयी हुँदै वडा नम्बर ८ र ३ सेमीफाइनल प्रवेश गरेको छ । वडा नम्बर ३ ले ४ लाई ६–१ गोलअन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो । ३ नम्बर वडा तेस्रो संस्करणको विजेतासमेत हो । यस्तै बुधबार भएको अर्को क्वाटरफाइनल खेलमा वडा नम्बर ५ लाई हराउँदै वडा ८ सेमीफाइनलमा प्रवेश गरेको छ । ५ नम्बर वडालाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै वडा नम्बर ८ सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । वडा नम्बर ६ र ७ यसअघि नै सेमीफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलहरु भोलि बिहीबार सञ्चालन हुनेछ । पहिलो सेमीफाइनल खेल वडा नम्बर ३ र ६ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमीफाइनल खेल वडा नम्बर ७ र ८ बीच हुनेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।