हेटौंडाः आज ईश्वी सम्वतको १ तारेख, अर्थात आज अन्तर्राष्ट्रिय मजदुर दिवस । संसारभरका मजदुर एक हौं भन्ने गरिए पनि मजदुर वर्गले दैनिक गुजाराका लागि संसारभर नै कष्टकर दैनिकी बिताउनु परेको छ । पछिल्लो समय अत्याधुनिक उपकरणको प्रयोगले मजदुरले गर्ने काम मेसिनहरुले गर्न थालेका छन् । आधुनिक प्रविधिले संसारभरबाट लाखौं मजदुरको आम्दानीको अवसर गुमेको छ ।
नेपालमा पनि मजदुर वर्गको हित हुन सकेको छैन । मजदुर वर्ग न्यून आयमा काम गर्न बाध्य छन् भने नेपालको सन्दर्भमा तीन तहको सरकार बनेर आआफ्नो ढंगले काम गर्न सुरु गरिसक्दा पनि मजदुर वर्गको हित हुने काम गर्न सकेका छैनन् । स्थानीय सरकारले सुरुवातको समयमा मजदुरको हित हुने खालका विभिन्न खाले लोकप्रिय प्याकेज घोषणा गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । पछिल्लो समय नेपालमै पनि शारीरिक श्रममा आधारित भएर श्रम गर्ने मजदुरको अभाव हुन थालेको छ ।
अहिले निर्माणको क्षेत्रमा भारतीय मजदुरको उपस्थिति बढ्दो छ । निर्माणसँगै फर्निचर, साना व्यवसाय, उद्योग, कलकारखानामा पनि भारतीय मजदुरको उपस्थिति बढ्दो क्रममा छ । नेपाली युवा भने युरोप, अमेरिका, खाडी मुलुकमा समेत गएर शारीरिक श्रममा आधारित मजदुरी गरिरहेका छन् । शारीरिक श्रममा आधारित मजदुरीलाई सम्मानित र व्यवस्थित बनाउन स्थानीय संघीय, प्रदेश र स्थानीय तीनै सरकारले ध्यान दिन सकेको छैन । श्रमिक मजदुरकै नारा बोकेर राजनीति गरेको नेकपाको सरकारले समेत मजदुर वर्गलाई उचित ध्यान दिन सकेको छैन ।