परीक्षा दिँदै विद्यार्थीहरु ।

हेटौंडाः आगामी चैत्र १७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुनका लागि मकवानपुरबाट ६ हजारभन्दा बढी परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका छन् । नियमिततर्फ ५ हजार ८ सय ५३ जना, प्राविधिक धारतर्फ २ सय २४ जना र गे्रडवृद्वितर्फ २ सय ५६ जना परीक्षार्थीले परीक्षा आवेदन फराम भरेका हुन् ।

मकवानपुरबाट ६ हजार ३ सय ३३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागीका लागि आवेदन फारम भरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । एक सय वटा सामुदायिक र ३८ वटा संस्थागत गरी १ सय ३८ वटा विद्यालयले परीक्षा आवेदन फराम भरेका छन् । एसईईका लागि यसवर्ष मकवानपुर जिल्लामा २५ वटा परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा १४ वटा र अन्य पालिकाहरुमा ११ वटा विद्यालयलाई परीक्षा केन्द्र कायम गर्दा राक्सिराङ र कैलाश गाउँपालिकाको कुनै पनि विद्यालयलाई केन्द्र तोकिएन ।

बागमती गाउँपालिकाको जनता माध्यमिक विद्यालय, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र महेन्द्र किरण माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । यसैगरी बकैया गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय र बुद्व माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । थाहा नगरपालिकाको मच्छेनारायण माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । मकवानपुरगढी गाउँपालिकाका जाल्पादेवी माध्यमिक विद्यालय, भीमफेदी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय र इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधिनी माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार बागमतीमा एउटा, हेटौंडामा १४ वटा, मनहरीमा २ वटा, थाहानगरमा ३ वटा, मकवानपुरगढीमा एउटा, बकैयामा २ वटा, भीमफेदीमा एउटा र इन्द्रसरोवरमा एउटा परीक्षा केन्द्र तोकिँदा २ वटा पालिकामा भने परीक्षा केन्द्र तोकिएको छैन । १० पालिकामध्ये राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा परीक्षा केन्द्र नतोकिएको हो । भौतिक पूर्वाधारको अभावका कारण परीक्षा केन्द्र नतोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका शिक्षा अधिकृत उन्नति ढकालले जानकारी दिनुभयो ।

गतवर्ष एसईई परीक्षामा ७ हजार एक सय ३८ जना परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका थिए । जिल्लाका १ सय ३६ वटा सामुदायिक तथा संस्थागत विद्यालयले आवेदन फारम भरेका थिए । जसमा गे्रडवृद्धितर्फ १४ जना, प्राविधिक धारतर्फ २ सय ४५ जना र नियमिततर्फ ६ हजार ८ सय ७९ परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका थिए । गत वर्षको तुलनामा मकवानपुरबाट एसईईको परीक्षा आवेदन फराम भर्ने परीक्षार्थीको संख्या यसवर्ष करिब एक हजार जना घटेका छन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्र तोक्न सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई जिम्मेवारी दिएको थियो ।