हेटौंडाः नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दीपकबहादुर सिंहले मकवानपुरका उद्योगहरुमा लोडसेडिङ नहुने बताउनुभयो । उद्योग संघ मकवानपुरले बुधबार आयोजना स्वागत तथा बधाई कार्यक्रममा राज्यमन्त्री सिंहले मकवानपुर जिल्लाका उद्योगहरुले अब लोडसेडिङको समस्या भोग्नु नपर्ने बताउनुभएको हो ।
मकवानपुरका उद्योगहरुमा अहिले पनि लोडसेडिङको समस्या भइरहेको आफूलाई खबर आएपछि विद्युत् प्राधिकरण पुगेर मकवानपुरमा विद्युत्को लोड बढाउन लगाएको उहाँले बताउनुभयो । आफू पनि व्यवसायी भएकाले यस क्षेत्रको समस्या बुझेको र समस्यालाई समाधान गर्न लागेको उहाँले जानकारी गराउनुभयो । केही समयका लागि मात्रै मन्त्री बनेकाले उहाँले काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । मकवानपुरमा उद्योग चलाउने व्यवसायीको शिर निहुराउन नदिने उहाँको भनाई छ । बुधबार बिहान विद्युत् प्राधिकारणको कार्यालयमा पुगेर वर्तमान अवस्थाको बारेमा छलफल गरेको बताउनुहुँदै राज्यमन्त्री सिंहले मकवानपुरमा विद्युत् पर्याप्त उपलब्ध हुने बताउनुभयो । उद्योग कलकारखाना सञ्चालन गर्नमात्र नभएर देश चलाउन पनि सबै लाग्नुपर्ने उहाँको भनाई छ । उहाँले स्वदेशी उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले अहिले उद्योगहरु संकटमा परिरहेको बताउनुभएको छ । अहिले कमजोर आर्थिक वृद्धि, महंगी र उच्च व्याजदरका कारण उद्योग क्षेत्र संकटमा रहेको बताउनुभयो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रुपमा भाडा वृद्धि गरेको उहाँले बताउनुभयो । भाडा वृद्धिबारे अहिले समिति निर्माण गरेर छलफल गरिरहेको र त्यसको कार्यान्वयन नभएमा हेटौंडा औद्योगिक क्षेत्र ठप्प पार्ने बताउनुभयो ।
मकवानपुर जिल्लाको औद्योगिक क्षेत्रले राजश्वमा २० अर्बको योगदान पुर्याउने गरेको उहाँले जानकारी गराउनुभयो । मकवानपुरका उद्योगहरु एक दिनमात्र नचल्दा ३ करोड नोक्सान हुने उहाँले स्पष्ट पार्नुभयो । अन्तरक्रियामा उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेल र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीलगायतको आतिथ्य रहेको थियो ।